वेस्ट इण्डिजविरुद्ध भारत १ सय ७ रनले विजयी, कुलदीप यादवकाे ह्याट्रिक

वेस्ट इण्डिजविरुद्ध भारत १ सय ७ रनले विजयी, कुलदीप यादवकाे ह्याट्रिक

वेस्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारत १ सय ७ रनले विजयी भएको छ । यो जितसँगै तीन एकदिवसीय सिरिजमा १–१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुने छ ।

विशाखपट्नममा बुधबार भएको खेलमा ३८८ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २ सय ८० रन मात्रै बनाउन सक्यो । 

वेस्टइण्डिजको पारी ध्वस्त बनाउने क्रममा कुलदीप यादवले ह्याट्रिक दिए । कुलदीपले ३२ दशमलव ४ ओभरमा साइ होपलाई आउट गर्दै पहिलो विकेट लिएका थिए । साइ होपले आक्रामक तरिकाले रन बनाउँदै भारतमाथि दबाब दिएका थिए । उनी ७८ रन बनाएर आउट भए ।
३२ दशमलव ५ ओभरमा जेशन होल्डरलाई आउट गर्दै दोस्रो सफलता हात पारे । होल्डर ११ रन बनाएर आउट भएका थिए । ह्याट्रिक विकेटको रुपमा कुलदीपले अलजारी जोसेफलाई आउट गरे । 

कुलदीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ पटक ह्याट्रिक लिने पहिलो भारतीय खेलाडी पनि बनेका छन् । उनले सन् २०१७ मा अस्ट्रेलियाविरुद्ध पनि ह्याट्रिक लिएका थिए । 

त्यस्तै मोहम्मद शमीले २९ औं ओभरमा लगातार २ विकेट लिँदै खेल भारततर्फ फर्काएका थिए । ७५ रन बनाएर खेलिरहेका निकोलस पुरनलाई सामीले आउट गरेका थिए । त्यसलगत्तै अर्को बलमा कायरन पोलार्डलाई एक बलमा नै पेभेलियन फर्काए । 

अन्तिम विकेटको रुपमा शमीले किमो पउललाई आउट गरेका थिए । रविन्द्र जडेजाले २ विकेट हात पार्दा शार्दुल ठाकुरले पनि एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले १५९ तथा केएल राहुलले १०२ रनको सानदार पारी खेलेपछि भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ८७ रन बनाएको थियो । 

वेस्ट इण्डिजका कप्तान किरोन पोलार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

उनको टिममा सुनिल अम्ब्रिस र हेडन वाल्सको ठाउँमा एविन लुइस र खेरी पिएरेलाई मौका दिइएको थियो । त्यस्तै भारततर्फ शिवम् दुबेको ठाउँमा शार्दुल ठाकुरलाई स्थान दिइएको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि रोहित शर्मा र केएल राहुलले २ सय २७ रनको साझेदारी गरेका थिए ।

रोहितले १ सय ७ बलमा २८ औं एकदिवसीय शतक बनाए । राहुलले १ सय २ बलमा तेस्रो शतक प्रहार गरे । ३७ औं ओभरमा राहुल आउट भएलगत्तै ३८ औं ओभरमा २३२ रन हुँदा कप्तान विराट कोहली खाता नै नखोलिकन आउट भए ।

ओपनिङमा आएका रोहितले श्रेयस अय्यरसँग मिलेर तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । रोहितले १ सय ३८ बलमा १७ चौका र ५ छक्काको मद्दतमा १ सय ५९ रन बनाए । 

रोहित आउट भएपछि अय्यरले ऋषभ पन्तसँग मिलेर चौथो विकेटका लागि ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३ सय ५० कटाएका थिए । पन्त तीन चौका र चार छक्काको मद्दतमा १६ बलमा ३९ रन बनाउँदै आउट भए ।

अय्यरले ३२ बलमा ५३ रनको योगदान गर्दै लगातार चौथो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाए । भारतले अन्तिम १० ओभरमा १ सय २७ रन बनाएको थियो । केदार जाधव १६ तथा रविन्द्र जडेजा खाता नै नखोलिकन अविजित रहे ।

वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेलले २ तथा किमो पल, अल्जारी जोसेफ र किरोन पोलार्डले एक–एक विकेट लिए ।