भारतमा प्रहरीको गोलीबाट तीनको मृत्यु, इन्टरनेट सेवा बन्द !

भारतमा प्रहरीको गोलीबाट तीनको मृत्यु, इन्टरनेट सेवा बन्द !

भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झन् झन् चर्किँदै गइरहेको छ ।  यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु हुनुका साथै सयौं मानिसहरु पक्राउ परेका छन् । 

वामपन्थी घटकहरुलाई अन्य विभिन्न पक्षले समर्थन गरेका थिए । विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ । 

यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ । देशका थुप्रै भागमा इन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए । 

नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ । यसका आलोचकहरुले यो कानुनले भारतको धर्म निरपेक्षताको छबिमा असर गर्ने जनाउँदै आएका छन् ।

यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले यो आरोप गलत भएको बताउँदै आएका छन् । तर, विपक्षी र स्वतन्त्र नागरिकले पनि यो कुरा पत्याएका छैनन् ।

पीटीआईका अनुसार प्रहरीको फायरिङ्गमा कर्नाटका र मंगलगुरुमा दुईजनाको मृत्यु भएको छ । मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ । अर्का एक व्यक्तिको मृत्यु लखनउमा भएको छ ।