भारतमा निरन्तर प्रदर्शन, मृत्यु हुनेको संख्या १४ पुग्यो

भारतमा निरन्तर प्रदर्शन, मृत्यु हुनेको संख्या १४ पुग्यो

संशोधनसहितको नागरिकतासम्बन्धी नयाँ कानुनको विषयलाई लिएर शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । सो कानुनको विरोधमा विभिन्न संघसंगठनले संयुक्त रूपमा केन्द्रीय रेलवे स्टेसनमा बृहत् प्रदर्शन गरेको छ ।

ती सबै संगठन नयाँ कानुनको विपक्षमा रहेका छन् । उनीहरूले सो कानुनविरुद्ध प्लेकार्ड तथा ब्यानर प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । विरोध प्रदर्शन आयोजना गरिएका ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीले जनाएका छन् । कपिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप ६ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा ६ जनाको मृत्यु भएसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका सहरी क्षेत्रमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनले उल्लेख गरेका छन् । प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका बताइएको छ ।

सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापी रूपमा आन्दोलन चर्किएको हो ।

नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरू ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानूनी व्यवस्था छ ।