बिग बास लिग : सन्दीपको टोली मेलवर्नको दोस्रो जित

बिग बास लिग : सन्दीपको टोली मेलवर्नको दोस्रो जित

अस्ट्रेलियन टी–२० लिग बिग बासमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टोली मेलवर्न स्टार्सले दोस्रो जित हात पारेको छ। आइतबार बिहान भएको खेलमा मेलवर्नले होबर्ट हुरिक्यान्सलाई ५२ रनले हराएको हो।  

मेलवर्नले टस जितेर पहिले ब्याटिङ गरी २० ओभर ४  विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको होबर्ट हुरिक्यान्सले १६ ओभरमा ११ रन बनाउँदा सबै विकेट गुमायो। मेलवर्नको जितका लागि पाकिस्तानी खेलाडी हरिस राउफले उत्कृष्ट प्रदर्शन गरे।

उनले ४ ओभर बलिङ गर्दा २७ रन दिएर ५ विकेट लिए। सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्ने अवसर पाए। सन्दीपले ३ ओभरमा १८ रन दिएर १ विकेट लिए। २ ओभरमा १ विकेट लिएर ५ रन मात्रै दिएका सन्दीपले तेस्रो ओभरमा १३ रन दिएका थिए। 

होबर्ट हुरिक्यान्सका लागि १०औं नम्बरमा ब्याटिङमा आएका क्लिभ रोजले सर्वाधिक ३२ रन बनाए। पहिले ब्याटिङ गरेको मेलवर्नका लागि ओपनर मार्कुस स्टोनसिले ५४ बलमा ८१ रन बनाई उत्कृष्ट इनिङ खेले। ७ चौका र ४ छक्का प्रहार गरेका उनी नटआउट रहे। मेलबर्नले पहिलो खेलमा ब्रिसबान हिटलाई २२ रनले पराजित गरी जित हात पारेको थियो।  

पहिलो खेलमा पनि सन्दीपले एक विकेट लिल सफल भएका थिए।  गतसाल पनि सन्दीप यसै टोलीबाट बिगवासमा प्रतिस्पर्धा गरेका थिए। मेलवर्न गतसिजनको उपविजेता हो। गत सिजन पहिलो पटक बिगवासमा सहभागी भएका सन्दीपले ८ खेल खेल्दा ११ विकेट लिन पनि सफल भएका थिए।