एकदिवसीय सिरिज भारतको कब्जामा, वेष्ट इन्डिज ४ विकेटले पराजित

एकदिवसीय सिरिज भारतको कब्जामा, वेष्ट इन्डिज ४ विकेटले पराजित

कप्तान विराट कोहली र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा प्रेरित घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ४ विकेटको जित निकालेको छ । तीन सय १६ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको भारत ४८ दशमलब ४ ओभरमा  ६ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो ।

भारतको जितमा कप्तान कोहली र राहुलसँगै रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । ८५ रन बनाएका कप्तान कोहलीले ९ चौका प्रहार गरे । केएल राहुलले ७७ रनको योगदान दिदाँ रोहित शर्माले ६३ रन बनाएका थिए । ८९ बलको सामना गरेका राहुलले ८ चौका र १ छक्का प्रहार गरे । 

६३ बल खेलेका रोहितले ८ चौका र १ छक्का प्रहार गरेका थिए । रिसब पन्त र श्रीयस लेयर समान ७–७ रनमा पवेलियन फर्किदा केदार जादभले ९ तथा रविन्द्र जडेजाले ३९ रन बनाए । सार्दुल ठाकुरले १७ रनको महत्वपुर्ण पारी खेले । वेष्ट इन्डिजका किमो पाउलोले ३ विकेट लिदाँ कोट्रल, होल्डर र जोसेफले १–१ विकेट लिए । 

यसअघि बारबाती स्टेडियममा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरन र कप्तान पोलार्डको उत्कृष्ट प्रदर्शनमा भारतलाई ३ सय १६ रनको लक्ष्य दिएको थियो । पोलार्ड र पुरन चम्कीएपछि निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १६ रनको लक्ष्य दिएपनि वेष्ट इन्डिज अन्नत पराजित भयो । 

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ८९ रन बनाएका थिए । ६४ बलको सामना गरेका उनले १० चौका र ३ छक्का प्रहार गर्दा ५१ बल खेलेका पोलार्डले ३ चौका र ७ छक्काको मदतमा ७४ रनको योगदान दिए । साइ होपले ४२ रन बनाउँदा रोस्टनले ३८, सिमरोनले ३७ रन जोडेका थिए । इभन लुइसले २१ रन बनाएका थिए ।

भारतका नवदीप सैनीले २ विकेट लिदाँ रवीन्द्र जडेजा, मोहम्मद समी र सर्दुल ठाकुरको नाममा १–१ विकेट रह्यो । यसअघि पहिलो एकदिवसीय खेलमा वेस्ट इन्डिजले ८ विकेटको जित निकाल्दा दोस्रो एकदिवसीय खेलमा भारत १ सय ७ रनले विजय भएको थियो ।

आजको जितसँग भारतले घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्ध ३ एकदिवसीय सिरिज २–१ ले जितेको छ ।