इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट : पहिलो दिन दक्षिण अफ्रिका ९ विकेटकाे क्षतिमा २७७ रन

इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट : पहिलो दिन दक्षिण अफ्रिका ९ विकेटकाे क्षतिमा २७७ रन

इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो दिनको खेल सकिँदा २७७ रन बनाएको छ । सेन्चुरियनमा घरेलु टोली दक्षिण अफ्रिकाले २७७ रन बनाउँदा ९ विकेट भने गुमाइसकेको छ । दक्षिण अफ्रिकाका भर्नन फिलाण्डर २८ रन बनाएर क्रिजमा रहेका छन् । दोस्रो दिनकाे खेल फिलाण्डर र एनरिच नोर्टजेले अघि बढाउने छन् ।

दक्षिण अफ्रिकाका लागि विकेटकीपर ब्याट्सम्यान क्विन्टन डी ककले सर्वाधिक ९५ रन बनाए । टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले रनको खाता नै नखोल्दै डिन एल्गरलाई डक आउटका रुपमा गुमायाे । ३२ रन हुँदा दोस्रो विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि एडेन मर्करम २० रनमा पेभेलियन फर्किए ।

७१ रन हुँदा जुवेर हम्जा तेस्रो विकेटका रुपमा ३९ बनाएर पेभेलियन फर्किए । लगातार विकेट गुमाएको अफ्रिकाका रस्सी भान डर डुसेन पनि व्यक्तिगत ६ रनमा आउट भए । कप्तान फाफ डु प्लेसि २९ रन बनाएर आउट हुँदा दक्षिण अफ्रिकाको स्कोर १११ रनमा ५ विकेट थियो ।

त्यसपछि क्विन्टन डी कक र ड्वायन प्रिटाेरियसले ८७ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए । प्रिटाेरियस ३३ रन बनाएर आउट भएका थिए । त्यसपछि डी ककले भर्नन फिलाण्डरसँग ४७ रनको साझेदारी गर्दै टिमको स्कोर २०० कटाएका थिए ।

डी कक व्यक्तिगत ९५ रनमा आउट हुँदा अफ्रिकाले २४५ रनमा सातौँ विकेट गुमाएको थियो । त्यसपछि केशब महाराज ६ रन बनाएर आठौँ विकेटको रुपमा आउट भए भने कागिसो रबाडा १२ रनमा पेभेलियन फर्किए ।

८२.४ ओभरमा दक्षिण अफ्रिकाले २७७ रन बनाउँदा नवौँ विकेट गुमाएपछि पहिलो दिनको खेल सकिएको थियो । इंग्ल्याण्डका लागि साम कर्रनले चार विकेट लिए स्टुआर्ट ब्राेडले तीन विकेट हात पारे । यस्तै जेम्स एण्डरसन र जोफ्रा आर्चरले पनि एक-एक विकेट लिए ।