अफ्रिकामा विश्वकै महङ्गो इन्टरनेट शुल्क, नेपालमा पनि सस्तो छैन डाटा !

अफ्रिकामा विश्वकै महङ्गो इन्टरनेट शुल्क, नेपालमा पनि सस्तो छैन डाटा !

अफ्रिीकी नागरिकहरु विश्वकै सबैभन्दा महङ्गा इन्टरनेट प्रयोगकर्ता भएको मंगलबार प्रकाशित ‘द अलाएन्स फर अफोर्डेबल इन्टरनेट (ए.फोरएआइ)’ को रिपोर्टमा उल्लेख गरिएको छ । उक्त संस्थाले विश्वका १३६ मध्यम आय र कम आय भएका राष्ट्रहरुको अध्ययन गरि उक्त रिपोर्ट सार्वजानिक गरेको हो ।

यसमा मध्यम आय दर भएका देशहरुमा मलेशिया, कोलम्बिया, भारत, जमाइका, दक्षिण अफ्रिका, घाना लगायत रहेका छन् भने कम आयदर भएका मुलुकमा चाहिँ नेपाल, मालि, हाइटी, लाइबेरिया, यमन लगायतका देशहरु राखिएको छ । 

वास्तवमा ए.फोर.एआइ. वेब संस्थापक टिम बर्नस लिले गुगल र फेसबुकसँगको सहकार्यमा सुरु गरेको संस्था हो । यसले कुनैपनि देशका नागरिकको औसत मासिक आयको २ प्रतिशतले एक जिबी सम्मको मोबाइल डाटा खरिद गर्न सक्नेलाई नै ‘अफोर्डेबल’ को सूचीमा राख्दछ ।

जसमा अफ्रिकी मुलुकहरुका नागरिकले औसतमा आफ्नो मासिक आम्दानीको ७.१२ प्रतिशत रकम खर्च गरेर मात्र एक जिबीको इन्टरनेट चलाउन पाउने गरेको पाइएको हो । सो इन्टरनेट शुल्क धनी वर्गमा पर्नेहरुका लागि समेत धेरै महङ्गो भएको बताइएको छ ।

यसरी इन्टरनेट र प्रविधिको युगमा पनि विश्वको ४९ प्रतिशत जनसङ्ख्या अफलाइन अर्थात इन्टरनेट विहिन रहनुका पछाडि यहि कारण भएको रिपोर्टमा जनाइएको छ । इन्टरनेटको एक्लो बजार र विकल्पको अभावका कारण नै मूल्यमा यस्तो समस्या हुने गरेको बताइएको छ । 

यसरी नेपालमा पनि एक जीबी बराबर इन्टरनेट प्रयोग गर्न प्रति व्यक्ति कूल राष्ट्रिय आयको  ६.३४ प्रीतशत खर्च गर्नुपर्ने देखिएको छ भने छिमेकी देश चीनमा चाहिँ राष्ट्रिय आयको ०.१७ प्रतिशतले १ जिबी डाटा चलाउन सकिन्छ भारतमा पनि प्रति व्यक्ति राष्ट्रिय आयको ०.४५ प्रतिशतमा १ जिबी डाटा उपलब्ध रहेको छ । तर डिआर कंगोका नागरिकले भने २६.२४ प्रतिशत आय खर्च गरेर मात्र त्यति मोबाइल डाटा खरिद गर्न सक्छन् ।  

यसै वर्गमा केही राष्ट्रहरुमा सुधार पनि आइरहेको जनाइएको छ । जस्तै नामिबियाले नयाँ फर्महरुलाई इन्टरनेट उद्योगमा भित्र्याउन स्वीकृति दिएको हो । त्यस्तै केन्याले पनि आफ्ना लाखौँ नागरिकहरुलाई इन्टरनेटको पहुँच दिलाउन करछुटको व्यवस्था गरेको हो ।