दार्चुलामा यसै वर्ष छैटौं पटक हिमपात

दार्चुलामा यसै वर्ष छैटौं पटक हिमपात

दार्चुला : दार्चुलामा यसवर्ष छैटौं पटक हिमपात भएको छ । केही दिन अघिबाट मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा भारी हिमपात भएको हो । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि स्थानीयको जनजीवन कस्टकर भएको छ ।

मंगलवार राति केही ठाउँमा मात्र हिमपात भएपनि शनिवार भने जिल्लाका धेरैजसो ठाउँमा हिमपात भइरहेकोे छ । दार्चुलामा यस वर्ष मंसिरको अन्तिम सातातिरबाट हिमपात सुरु भएको हो । यो गरि दार्चुलामा यसैवर्ष छैटौ पटक हिमपात भएको हो ।

शनिवार दिउँसोदेखि भएको निरन्तर वर्षा र हिमपातका कारण दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । विभिन्न क्षेत्रमा भइरहेको हिमपातका कारण सडक हिलाम्य र पहाड सेताम्य भएका छन् भने स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

जिल्लाको अपि हिमाल गाउँपालिका, व्याँस गाउँपालिकाको अधिकांश भूभागका साथै दुहुँ, मार्मा, नौगाड, लेकम र मालिकार्जुन गाउँपालिकाका साथै शैल्यशिखर र महाकाली नगरपालिकाका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

पटक पटक भएको हिमपातले भने किसानहरुलाई फाइदा भएको छ । यसवर्ष हिउँदे समयमा भएको हिमपात तथा वर्षाले किसानले लगाएको अन्नबाली सप्रनमा धेरै राहत पुगेको मालिकार्जुन गाउपालिकाका वडा नम्बर २ का कृषक दान सिंह विष्टले बताए ।

हिमपात भए संगै दार्चुला जिल्ला सदरमुकामका साथै ग्रामिण भेगहरुमा ह्वात्तै चिसो बढेको छ । लगातार हिमपात भइरहेकाले दैनिक कामकाजमा समस्या भएको हो । दार्चुला जिल्ला सदरमुकामस्थित सडक र गोरेटा बाटोहरुमा पानी भरिएर हिलाम्य भएको छ ।