दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने

दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने

दार्चुला : आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ ।

तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा नं २ का १६१ र वडा नं ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ । लेकम गाउँपालिकाको वडा नं ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा नं ६ को १३३ घरधुरीमा नमूना जनगणना गरिने पाण्डेले जानकारी दिए ।

जनगणनामा पूरै वडा समेटिएको छैन । वडाभित्रका गणना क्षेत्र तोकेर नमूना जनगणना गर्न लागिएको कार्यालय प्रमुख पाण्डेको भनाइ थियो । सरकारले आगामी २०७८ जेठ २५ दखि असार ८ गतेसम्म देशभर जनगणना गर्दैछ । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित हुन गइरहेको जनगणनालाई आधार मानी नमूनाका रुपमा अहिले तयारी थालिएको उनले बताए ।

जनगणनाका लागि जिल्लामा चार जना गणक छनोट गरी तालीममा सहभागी गराइएको छ । नमूना जनगणना हरेक प्रदेशबाट २ जिल्लामा गरिँदैछ ।