गहुँमा सिन्दुरे रोगले क्षति पुगेपछि बैतडीका किसान चिन्तित

गहुँमा सिन्दुरे रोगले क्षति पुगेपछि बैतडीका किसान चिन्तित

बैतडी : गहुँमा सिन्दुरे रोगले क्षति पुगेपछि बैतडीका किसान चिन्तित बनेका छन्।  जिल्लाका  विभिन्न स्थानमा लगाएको गहुँबालीमा सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको गहुँमा सिन्दुरे रोग देखा परेको हो।

दोगडाकेदार–२ को घमालीमाकरिब ६ हेक्टर क्षेत्रफलमा लगाइएको गहुँमा सिन्दुरे रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले जानकारी दिए। यस्तै, पाटन–६ मा पनि सिन्दुरे रोगको प्रकोप देखा परेको नगरपालिकाका कृषि शाखाका प्रमुख महेश अवस्थीले बताए। गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबालीमा क्षति पुगेको उनले बताए।

पाटनको पनि ६ हेक्टर बढी क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिन्दुरे रोगको प्रकोप देखा परेको छ। बैतडीमा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ। जसमध्ये १० हजार ५०० हेक्टर क्षेत्रफलमा मात्रै सिंचाइ सुविधा रहेको  छ।