थाहा पाउनुहोस्, आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

थाहा पाउनुहोस्, आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

सरकारले शुक्रबार रातिदेखि कोरोना सङ्क्रमित खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया, जापान तथा यूरोपका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । साथै यी देशमा ट्रान्जिट भएर पनि नेपाल आउन पाइने छैन । विदेशी नागरिकसँगै नेपाली नागरिक पनि यी देशबाट नेपाल आउन पाउने छैनन् । 

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले यूरोपका ४४ देश, खाडीका ६ देश, इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानका साथै यी देशमा ट्रान्जिट भएर नेपाल आउन रोक लगाएको हो । 

सरकारको यो निर्णयसँगै अब काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, टर्की, ओमन र जापानका उडान रोकिने छन् । त्यहाँबाट आउन नपाउने भएपछि ती देशबाट जहाज आउन पाउने छैनन् ।

यसअघि कतारले नेपालीलाई प्रवेशमा रोक लगाए पनि दोहा काठमाण्डौ उडान भइरहेको थियो । दोहा ट्रान्जिट भएर अन्य देशमा जाने र आउने यात्रुहरु पनि थिए । 
सरकारले रोक नलगाएका देश जस्तै अमेरिका, अस्टे«लिया लगायतका देशबाट आउनेले पनि कतारसहित खाडीका अरु देश र मलेसियामा ट्रान्जिट हुँदै नेपाल आउन पाउने छैनन् । 

सरकारले प्रतिबन्ध नलगाएको देशबाट भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक र चीनको ग्वाङजाउबाट भने नेपाल आउन पाइनेछ । अर्थात तपाईँ अमेरिका, अस्टे«लियाबाट चीन, बैंकक, हङ्कङ वा सिंगापुर ट्रान्जिट बनाएर नेपाल आउन पाउनुहुनेछ । 

तर प्रतिबन्धित देशमा रहेका नेपाली वा अन्य नागरिक भने यी ठाउँलाई ट्रान्जिट बनाएर पनि आउन पाउने छैनन् । 

शुक्रबार राति १२ बजेसम्म काठमाण्डौं अवतरण गरिसक्ने उडानको टिकट भएका यात्रुहरु चाहिँ प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउन पाउनेछन् । यो प्रतिबन्ध अप्रिल १२ अर्थात आउँदो चैत ३० गतेसम्म लागू हुनेछ ।