कोरोनाको जोखिममा युवा पनि रहेकाले सचेत हुन डब्लूएचओको सुझाव

कोरोनाको जोखिममा युवा पनि रहेकाले सचेत हुन डब्लूएचओको सुझाव

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ ।

बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको हो । विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा बुढाबुढीको ज्यान गएको पाइएपछि सतर्कता नअपनाएको पाइएकाले संगठनले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो ।

अध्ययनले कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको संक्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी बढी जोखिममा रहेका देखाएको छ । कोरोना भाइरस संक्रमित ११ हजारभन्दा धेरै मानिसको स्वासप्रश्वासका कारण ज्यान गएको पाइएको छ ।

अहिलेसम्म विश्वका १ सय ८५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा गरी २ लाख ७५ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् भने १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन् । ११ हजार ३ सय ७० जनाको ज्यान गएको छ ।

इटालीमा औसतमा साढे ७८ वर्षका मानिसको ज्यान गएको पाइएको छ । चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका रहेको न्यूयोर्क टाइम्सले जनाएको छ । तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेका पाइएको छ ।

सामाजिक हाेइन व्यक्तिबीचको दूरी बढाऔँ : सरुवा रोग​ विज्ञ

संगठनको सरुवा रोगसम्बन्धी विज्ञ डाक्टर मारिया करकोभले कोरोना भाइरसबाट जोगिन मानिसबिच सामाजिक दूरी नभई व्यक्तिबिचको दूरी बढाउन आग्रह गर्नुभएको छ ।

यो बेलामा शाररीक समस्याभन्दा पनि मानसिक समस्या पिडादायी हुने भन्दै उहाँले सामाजिक सञ्जालको माध्यमबाट सम्पर्कमा रहन सुझाव दिनुभएको छ ।