कोरोना सन्त्रास : दार्चुला जिल्ला बेलुकी देखी लकडाउन गरिदै

कोरोना सन्त्रास : दार्चुला जिल्ला बेलुकी देखी लकडाउन गरिदै

दार्चुला : विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को सम्भावित संक्रमणको जोखीमबाट बच्न जिल्लालाई लकडाउन गरिने भएको छ । सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको समन्वयतात्मक बैठकले जिल्लालाई सोमवार बेलुकी ५ बजे देखी लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारीसहितका सरोकारवालाहरुको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार तथा अत्यावश्यक काम बाहेक हिडडुल नगर्न अनुरोध गरेको हो । जिल्लामा रहेका खाद्यान्न, ग्याँस, दूध, डेरी, औषधि, तेल नुन, सागसब्जी, फलफूलका पसल विहान ७ बजे देखी १० बजे सम्म मात्र खुला हुने भएका छन् ।

साथै समान किन्न जादा एक घर परिवारबाट एक जना भन्दा बढी जान नमिल्ने तथा पसलमा समेत २ मिटरको दुरी कायम गर्नुपर्ने भएको छ । जिल्ला भित्रिने मालवाहक सवारी साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । ठेलागाडी, र खुला चौरमा संचालन गरिएका व्यवसायलाई प्रतिवन्द लगाइने भएको छ ।

सर्वसाधारण नागरिकमा भ्रम र त्रास फैलाउने तथा कृतिम अभाव, कालोबजारी एवं मिसावट गराउनेलाई प्रचलित कानुन अनुसार कारवाही हुने जनाइएको छ । यस्तै जिल्लामा रहेका धार्मीक क्षेत्र मठमन्दिर, गुम्बा, चर्च लगायतमा भिडभाड र जमघट, वार्षिक श्राद्ध भोजभतेर, वर्तबन्ध जस्ता पारिवारीक तथा सामाजिक जमघट र भेटघाटलाई निरुत्साहित पार्ने निर्णय गरिएको छ ।

प्रत्येक स्थानिय तहको नेतृत्वमा आफ्नो स्थानिय क्षेत्रभित्र प्रवेश गर्ने मूख्य नाकाहरुमा हेल्थडेस्क राख्ने र वाहिरबाट आवगमन हुने व्याक्तिको अभिलेख टिपोट गरि उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाउने निर्देशन दिइएको छ । कोभिड १९) को जोखीमलाई ध्यानमा राख्दै चैते भेटौला, विषु पर्व चैते दशै जस्ता चाडपर्व मनाउनमा रोक लगाइएको छ ।

खाद्यान्न, ग्याँस, औषधि, तरकारी, सागसब्जी जस्ता अत्यावश्क सेवा बाहेकका पसल चैत ११ गते देखी अर्को सूचना जारी नभए सम्म बन्द गरिने भएका छन् । बैठकले प्रत्येक स्थानिय तहले कोरोनाको सम्भावित संक्रमणलाई नियन्त्रण गर्न एक एक विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।