काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका दिन टीका लगाइदिने र टीका ग्रहण गर्ने समय तय भएको छ ।
विजयादशी अर्थात टीकाको दिन प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट बिहान १० बजे टीका लगाउनुहुनेछ ।
त्यसपछि उहाँले आफ्नो सचिवालयका कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम छ । उहाँले दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाउने कार्यक्रम पनि तय भएको छ ।
उहाँले टीकाको दिन दिउँसो २ बजे मन्त्री, सांसद, पार्टीका नेता, सुरक्षा अधिकारीहरु, लगायतलाई टीका लगाइदिनुहुनेछ ।
दिउँसो साढे ३ बजेपछि पार्टीका कार्यकर्ता र सर्वसाधारणलाई तथा साँझ ६ बजेपछि परिवारका सदस्यहरुलाई टीका लगाइदिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
एकादशीदेखि चतुर्दशी अर्थात कार्तिक ६ गतेसम्म बिहान ९ देखि ११ बजेसम्म उहाँले पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिनुहुनेछ ।
यसैबीच २२ वर्षपछि गएको वर्ष टीका लगाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यस वर्ष टीका लगाउनुहुने छैन । छोरा प्रकाशको निधन भएको १ वर्ष पूरा नभएकाले उहाँले यसपटक टीका नलगाउने उहाँको सचिवालयले जानकारी दिएको छ ।