टेलिकमको डाटा र इन्टरनेट प्याकमा अविश्वसनीय बोनस, यसरी सकिन्छ किन्न

टेलिकमको डाटा र इन्टरनेट प्याकमा अविश्वसनीय बोनस, यसरी सकिन्छ किन्न

नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज ल्याएको छ । मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा कम्पनीले फोनको शुल्क र इन्टरनेटको दर कम गरेको हो ।

सरकारले डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेअनुसार कम्पनीले चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । जसअनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।

टेलिकमले जीएसएम सेवामा नयाँ डाटा प्याक उपलब्ध गराउने निर्णय गरेको छ । पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ ।

यसरी १ सयमा बोनस सहित कुल ४ जीबी र २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय भएको छ ।

सुविधाअनुसार पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ ।

यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनससहित २ सय ८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

कम्पनीले एक्स्ट्रिक १४१४ ह्यास डायल गरेर, टेलिकमको एप वा वेबसाइटबाट नयाँ प्याक खरिद गर्न सकिने जानकारी दिएको छ । यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था गरेको छ ।

यसैगरी फागुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना आगामी वैशाख मसान्तसम्मको लागि मिनाहा हुनेछ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अवधिभरका लागि काटिने छैनन् ।