कोरोना भाइरसले अमेरिकाको न्युयोर्कमा मात्रै एकै दिन ७३१ को मृत्यु

कोरोना भाइरसले अमेरिकाको न्युयोर्कमा मात्रै एकै दिन ७३१ को मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक हालसम्मकै उच्च हो । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

जेलमा रहेका कैदीको पनि मृत्यु भएपछि अधिकारीहरु चिन्तामा परेका छन् । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएको छ ।

सोमबारसम्म न्युयोर्क शहरको जेलमा रहेका दुई सय ८६ कैदी र तीन सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।

अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ६१२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ३ लाख ६१ हजार १४८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८२ हाजर बढीले ज्यान गुमाएका छन् ।