भारतको बेल्लारीमा एक महिला मजदूरको भोकका कारण मृत्यु

भारतको बेल्लारीमा एक महिला मजदूरको भोकका कारण मृत्यु

भारतको कर्नाटकको बेल्लारीमा एक महिला मजदूरको भोकका कारण मृत्यु भएको छ । 

लकडाउन लगाइएपछि ती महिला बेंगलुरुबाट ४१२ किलोमिटर पर रहेको रायचुरका लागि पैदलै हिँडिन् । खाली खुट्टा भोकप्यास सहँदै हिँडेकी उनको बाटैमा मृत्यु भयो । उनी ३०० किलोमिटर हिँडिसकेकी थिइन् । 

महिलाको नाम गंगाम्मा हो र उनी २९ वर्षकी थिइन् । 

लकडाउनपछि मजदूरी गर्न नपाएर उनी लगायतका मजदूरहरू बेंगलुरु छोड्न बाध्य भए । कसैले पनि उनीहरुलाई गाडीमा राखेर लान मानेन । उनीहरु एउटा ट्य्राक्टर चढेका थिए तर त्यसलाई पनि तुमकुरुमा रोकियो ।

भारतको सर्वोच्च अदालत र केन्द्र सरकारले बारम्बार राज्य सरकारहरूलाई प्रवासी श्रमिकको भोजन र आश्रयको प्रबन्ध मिलाउन भनिरहेको छ । अनि मजदूरहरूलाई जहाँ बसेको हो, त्यहीँ रहन भनेको छ । गंगाम्माका पति एच मल्लिकार्जुनले बेल्लारी आश्रयस्थलमा भोकमरी र उपेक्षाका कारण पत्नीको ज्यान गएको आरोप लगाए । त्यहाँका कर्मचारीले बेवास्ता गर्दा गंगाम्माको ज्यान गएको उनले बताए ।

उता विजयनगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका चिकित्सकहरूले गंगाम्मा मिर्गौला रोगबाट पीडित रहेको र उनलाई हेपाटाइटिस बी पनि रहेको र त्यसैले गर्दा उनको मृत्यु भएको बताएका छन् । मुख्यमन्त्री बीएस येदुरप्पाले गंगाम्माको मृत्युप्रति शोक व्यक्त गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।