कोरोनाले शव व्यवस्थापनमा चुनौती, अमेरिकामा सामूहिक चिहानको तयारी

कोरोनाले शव व्यवस्थापनमा चुनौती, अमेरिकामा सामूहिक चिहानको तयारी

मानिसको मृत्यु भइरहेको छ। शवगृहमा चाप उत्तिकै छ। माग पूरा भइरहेको छैन। सामाजिक दूरीसँग जुधिरहेको परिवारका लागि अन्त्येष्टि असम्भवजस्तै भइरहेको छ।

इलिनोइको मेड अलायन्स ग्रुपलाई देशभरिबाट फोन र इमेल आइरहेको छ। सबैको कुरा एउटै : कहिले नसोचेको परिस्थिति व्यवस्थापन गर्न अझै धेरै रेफ्रिजरेटेड ट्रेलर पठाउने।

“अस्पताल, स्वास्थ्य प्रणाली, कोरोनरको कार्यालय, सबैतिरबाट लाश आइरहेका छन्,” मेड अलायन्सकी प्रवक्ता क्रिस्टी पेञ्जोलले भनिन्,“यो हृदयविदारक क्षण हो।”

कम्पनीले सबै ट्रेलर भाडामा लगाएको र थप ट्रेलर बनाउनलाई आवश्यक पर्ने सामग्रीका लागि १८ साता कुर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताइन्। अमेरिकाका स्वास्थ्यविदसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना भाइरस महाव्याधिका कारण दुई लाख चालिस हजारको ज्यान जानसक्ने अनुमान गरेका छन्।

योसँगै मृत्युको व्यवहारिक पक्ष पनि टड्कारो छ   लाश कहाँ राख्ने? शहर, अस्पताल र निजी मेडिकल समूह सबै चिन्तित छन्। थप स्टोरेज सुरक्षित गर्न माग गरिरहेका छन्।

निजी शवगृह लामो समयसम्म खाली नहुँदा पनि समस्या बढेको छ। व्यक्तिको मृत्यु जसरी भए पनि सामाजिक दूरीको नियमले अन्त्येष्टिको योजना बनाउनु कठिन भइरहेको छ। यो संकट विश्वभरि दोहोरिरहेको छ।

स्पेनमा १४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। म्यड्रिडस्थित एउटा आइस रिङ्कलाई कामचलाउ शवगृहमा परिणत गरिएको छ। त्यहाँको म्युनिसिपल फ्युनरल सर्भिसले सुरक्षाका सामग्री उपलब्ध नभएसम्म कोरोना भाइरस संक्रमणले ज्यान गुमाउनेहरूको शव नलिने जनाएपछि त्यस्तो गरिएको हो।

इटालीमा लाश सड्न नदिन “मम्मी” बनाएर चर्चका हल र गोदाम पठाइँदैछ। अन्तिम संस्कारका लागि ती शव त्यहाँ पालोमा हुन्छन्।

इक्वेडरको वायाकिलमा प्लास्टिक वा कपडामा बेरिएका प्रियजनको शवको भयावह तस्वीर र याचना सामाजिक सञ्जालभरि छाएका छन्। शवगृहका कर्मचारी यति व्यस्त छन् कि उनीहरू कैयौं दिनसम्म पनि आउन भ्याउँदैनन्।

अमेरिकाको न्यूयोर्कमा अधिकारीहरूले शव राख्नलाई रेफ्रिजरेटेड ट्रक ल्याए। ब्रुकलिन हस्पिटल सेन्टरमा सेतो प्लास्टिकमा बेरिएको एउटा लाशलाई कर्मचारीले स्ट्रेचरमा राखेर ल्याए। फोर्कलिफ्ट सञ्चालकले त्यसलाई सावधानीपूर्वक उठाएर सो रेफ्रिजरेटेड ट्रेलरमा राखे। अन्य शहर र राज्यले पनि गम्भीर परिस्थितिका लागि तयारी थालेका छन्।

अमेरिकामा शवगृहको क्षमता कति छ ठ्याक्कै भन्न कठिन छ। धेरै शहर र काउन्टीले राज्य र संघीय अधिकारीलाई आकस्मिक पूर्वतयारीको योजना बुझाउँछन् तर लगत सबै पूर्ण हुँदैन र निजी शवगृहलाई राखिएको हुँदैन। नेसनल एसोसिएसन अफ मेडिकल एक्जामिनर्सजस्ता ट्रेड समूहले पनि त्यस्तो क्षमताको विवरण राख्दैनन्। तर अमेरिकाका थोरै शवगृहले दुईदेखि तीन सय शव राख्नसक्छन्।

वाशिङ्टन डिसिमा २७० शव राख्ने क्षमता भएको एउटा शवगृह छ। त्यहाँका अधिकारीले आवश्यक परेको खण्डमा संघीय साझेदारबाट सहयोग लिने बताए। डालासले आकस्मिक पूर्वतयारी स्वरूफ रेफ्रिजरेटेठ स्थानको योजना बनाएको छ।

शिकागोमा मृतकलाई मेडिकल एक्जामिनरको कार्यालयबाहिर राखिएको ट्रेलरमा राख्ने गरिएको छ। आवश्यक परे रेफ्रिजरेटेड गोदाम प्रयोग गर्ने बताइएको छ।

यसैबीच फेडेरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीले डिफेन्स डिपार्टमेन्टलाई एक लाख बडि ब्याग मागेको पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल माइकल एन्ड्रयुजले बताए।