बागलुङमा प्रसूति ब्यथा भएकी सुत्केरीको हेलिकप्‍टरबाट उद्धार

बागलुङमा प्रसूति ब्यथा भएकी सुत्केरीको हेलिकप्‍टरबाट उद्धार

बलेवा । सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट उद्धार गरिएको हो ।
आज नै प्रसूति ब्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो ।

ब्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी उहाँलाई स्वास्थ्य केन्द्रले पोखरा पठाएको थियो । बाटोमा जिल्ला सदरमुकामतर्फ एम्बुलेन्समा आउँदै गर्दा ब्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा पु¥याएको थियो । परिसरमै रहेकी उहाँलाई उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाका अध्यक्ष पाईजाले बताउनुभयो ।

उहाँलाई गण्डकी अस्पताल पोखरा लगिएको पाईजाले जानकारी दिनुभयो । पाण्डेका यसअघि पनि दुई सन्तान छन् । “उहाँको अवस्था देखेर माननीय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ”, अध्यक्ष पाइजाले भन्नुभयो, “उहाँले तत्काल प्रभुको हेलिकप्टर पठाउनुभयो उहाँ अस्पताल पुग्नुभएको छ ।” स्वास्थ्य केन्द्रका अनुसार पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले उहाँलाई पोखरा पठाइएको थियो ।