टीकापुरकी कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा

टीकापुरकी कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा

टीकापुर : कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।  लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ती महिलाका परिवारका १६ जनालाई क्वारेन्टाइनमा पुनः राखिएको हो।

चैत्र २९ गते क्वारेन्टाइनबाट फर्किएपछि आफन्तका घरमा बसेकी ती महिलाका ३६ जनालाई समेत सोमबार नै क्वारेन्टाइनमा राखिएको छ। 

संक्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । लम्की चुहा नगरपालिका वडा नं. १ अध्यक्ष जनकबहादुर बमले संक्रमित परिवारका १६ जना र ती महिलाको सम्पर्कमा रहेका ३६ जना गरी ५२ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । उनका अनुसार ५२ जनालाई नै क्वारेन्टाइनमा १४ दिन राखिनेछ। 

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी ५३ वर्षीय महिलालाई कोरोना संक्रमण रहेको सोमबार पुष्टि भएको थियो । यो सँगै लम्की चुहा नगरपालिकामा कोरोना पुष्टिको संख्या २ पुगेको छ ।

यसअघि लम्कीचुहा नगरपालिका वडा नं. ९ को सरस्वती माविको क्वारेन्टाइनमा राखिएका २१ वर्षीय एक युवकमा कोरोना पोजेटिभ देखिएको थियो । दुवैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।