चीनमा कोरोनाभाइरसविरुद्धका दुई खोपलाई मानिसमाथि परीक्षणको अनुमति

चीनमा कोरोनाभाइरसविरुद्धका दुई खोपलाई मानिसमाथि परीक्षणको अनुमति

चीनले कोरोनाभाइरसविरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि अनुमति दिएको छ ।

सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेका छन् ।

हिँजोमात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)  प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले खोप बिना कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न नसकिने बताएका थिए । 

कोरोना भाइरसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिनेवित्तिकै चीनबाट यस्तो समाचार सार्वजनिक भएको हो ।  

टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताएका थिए । 

यसअघि गत मार्चमा पनि चीनले चिनियाँ जनमुक्ति सेनाको एकाडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खोपलाई पनि क्लिनिकल परीक्षणका लागि अनुमित दिएको थियो ।

अमेरिकी औषधी निर्माता कम्पनी मोर्डेनाले आफूले निर्माण गरेको खोपको मानिसमाथि परीक्षण शुरु गरेको जनाएको केही समयमा नै चीनले सो घोषणा गरेको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर १९ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । यसबाट १ लाख १९ हजार ६०० जनाले ज्यान गुमाइसकेका छन् भने ४ लाख ५० हजार निको भएका छन् ।

न्युयोर्क सहरमा मात्र १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।