भारतीय क्वारेन्टाइनमै मनाए सुदूरपश्चिमका मजदुरले ‘बिसु’

भारतीय क्वारेन्टाइनमै मनाए सुदूरपश्चिमका मजदुरले ‘बिसु’

बैतडी : बैतडीसहित सुदूरपश्चिममा नयाँ वर्ष अर्थात् बिसु मनाइएको छ । बिसुमा नयाँ लुगा लगाउने, मिठोमसिनो खाने चलन रहिआएको छ । बिहानै नुवाइधुवाइ गरेर विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने चलनसमेत रहिआएको छ । 

यो वर्ष कोरोनाका कारण बिसुको रौनक भने नभएको स्थानीयवासीले बताएका छन् । परदेशिएकाहरु गाउँघरमा आउन नपाउँदा र लकडाउनका कारण बिसुको रौनक नभएको दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्टले बताउनुभयो ।

कोरोनाका कारण बैतडीका विभिन्न मठमन्दिर तथा शक्तिपीठमा लाग्ने बिसु जात्रासमेत स्थगित भएका छन् । बिसुको समयमा गाउँघरमा हुने चहलपहलसमेत यो वर्ष नभएको स्थानीयवासी बताउँछन् ।
 
बिसुमा देवर–भाउजु, नन्द–भाउजुले एकापसमा सिस्नु लगाएर रमाइलो गर्ने चलन रहिआएको भए पनि यो वर्ष कोरोनाका कारण कुनै रौनक नभएको स्थानीयवासीले बताएका छन् । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ ।

क्वारेन्टाइनमै मनाए बिसु

बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाटका विभिन्न स्थानमा बसेका नेपाली मजदुरले क्वारेन्टाइनमै बिसु मनाएका छन् । जारी लकडाउनका कारण स्वदेश फर्कन नपाएपछि उनीहरुले क्वारेन्टाइनमै बिसु मनाएका हुन् । बिसुका लागि घर फर्कने योजना रहेको भए पनि सीमानाका बन्द हुँदा घर फर्कन नपाएको पुर्चौंडी नगरपालिका–८ का दीर्घराज जोशीले बताए। “बिसुको अवसरमा घरमा मिठोमसिनो खाने चलन रहेको भए पनि क्वारेन्टाइनमै भात खाएर बिसु मनाएका छौँ”, उनले भने, “परदेशी भूमिमा चाडपर्व मनाउन निकै खल्लो भएको छ ।” 
 
क्वारेन्टाइनमा बसेको १४ दिन भइसकेकाले स्वदेश फर्काउन उनले माग गरे । दीर्घराजजस्तै २५० बढी नेपाली मजदुर सीमावर्ती झुलाघाटका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् ।

क्वारेन्टाइनमा बसेको १४ दिन भइसकेको र क्वारेन्टाइनमा समेत खानाको समस्या भएकाले स्वदेश फर्काउन अनुरोध गरेको पुर्चौंडीका लोकेन्द्र पार्कीले बताए।

सीमाक्षेत्रमा क्वारेन्टाइनमा बसेका नेपालीलाई स्वदेश फर्काउन कार्ययोजना बनाएर गृह मन्त्रालयमा पठाएको र मन्त्रालयबाट योजना कार्यान्वयनको आदेश आउनेबित्तिकै स्वदेश फर्काइने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको भनाइ छ ।

यसअघि चैत २४ गते सर्वोच्च अदालतले सरकारलाई भारतीय क्वारेन्टाइमा रहेको नेपाली मजदुरी स्वदेश ल्याउन आदेश दिएको थियो ।