दार्चुलाका प्रहरी जवान डोवालको रिपोर्ट नेगेटिभ

दार्चुलाका  प्रहरी जवान डोवालको रिपोर्ट नेगेटिभ

कोरोनाका संकास्पद भन्दै जिल्ला अस्पताल बैतडीमा आइसोलेसन कक्षमा उपचाररत एक प्रहरी जवानलाई सोमबार डिस्चार्ज गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान रुकुम सिंह डोबाललाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो ।

सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत डोबाललाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरिएको थियो । यसैबीच आइसोलेसन भर्ना भएका डोबालको थ्रोट स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोनाका संकास्पद बिरामी भन्दै उहाँको थ्रोट स्वाब परीक्षणका सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो ।

यसअघि पनि जिल्ला अस्पताल बैतडीमा दुईजनालाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो । परीक्षण गर्दा उनीहरुको नमुना नतिजा नेगेटिभ आएपछि गत चैत तेस्रो साता डिस्चार्ज गरिएको थियो ।

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले लकडाउनका बेला पनि अवैध रुपमा महाकाली नदीमा ट्युबमा तरेर आउन क्रम नरोकिँदा कोरोना संक्रमणको जोखिम बढ्दो छ ।
अवैध नेपाल प्रवेश रोक्न सीमाक्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।