नयाँ वर्ष सुरु भयो, भेटिएन भित्तेपात्रो

नयाँ वर्ष सुरु भयो, भेटिएन भित्तेपात्रो

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी सुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन ।

बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै सुरु भएको कोरोनाको प्रभावसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको थियो ।


चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएको थियो । यो त्रास र सबै काम अन्तिममा गर्ने हाम्रो बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्रो किनेका थिएनन् । चैतको मसान्तसम्म किन्ने सोचमा रहेकालाई चैत ११ गतेदेखि नै शुरु भएको बन्दाबन्दी चैत मसान्तसम्म पनि नखुल्दा किन्ने अवसर जुटेन ।

कागेश्वरी मनोहरा नगरपालिका-५ का विदुर सापकोटा आफ्नो घरमा पात्रो भए पनि भित्तेपात्रो नहुँदा नयाँ वर्ष आए पनि नआएजस्तो लागेको बताउँछन् । गते, बारलगायत विषय हेर्न प्रयोग गरिने पात्रो भित्तामा नहुँदा हेर्न असहज भएको उनको अनुभव छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रत्येक महिनाको सङ्क्रान्तिका दिन गुरु पुरोहितबाट मास फल सुन्ने गर्छन् । घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित आउन नसकेकाले वैशाख सङ्क्रान्तिमा यो परम्परामा समेत प्रभाव पर्‍यो । सौर मासअनुसार वर्षका १२ सङ्क्रान्तिलाई पर्वका रूपमा मनाउने शास्त्रीय विधि छ ।

वैशाख, साउन र माघ महिनाको सङ्क्रान्ति त अझ विशेष मानिन्छ । वैशाखमा सूर्य मेष राशिबाट भ्रमण सुरु गर्ने दिन अर्थात् विक्रम संवत्अनुसार नयाँ वर्ष, साउन सङ्क्रान्तिदेखि दक्षिणायन र माघ सङ्क्रान्तिदेखि उत्तरायण शुरु हुने भएकाले यी तीन सङ्क्रान्तिलाई विशेष रूपमा मनाउने प्रचलन पनि प्राचीनकालदेखि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।