विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी विधिबाट परीक्षण गरिँदै

विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी विधिबाट परीक्षण गरिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको आरडीटी किटको माध्यमबाट परीक्षण गर्ने नीति लिइएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको आरडीटी किट विधिबाट परीक्षण गर्ने नीतिअनुरूप तीव्र रूपमा परीक्षणको काम भइरहेको जानकारी दिए।

केहीदिन अघि सरकारले हरेक प्रदेशमा पाँच हजार किट उपलब्ध गराएको छ। मन्त्रालयले अहिले देशैभरमा ६ हजार ६०७ वटा परीक्षण आरडीटी किटबाट गरिएको जनाएको छ। पछिल्लो २४ घण्टामा एक हजार ३१६ वटा परीक्षण गरिएको छ।

“अहिले आरडीटी परीक्षणका क्रममा केही नतिजा पोजिटिभ आएको देखिन्छ”, मन्त्रालयका प्रवक्ता डा.देवकोटाले भने, “त्यस्ता केसको हामीले पीसीआर प्रविधिबाट पनि गर्दै आएका छौँ।”

आजसम्म देशैभर पीसीआर र आरडीटी किट प्रविधिबाट १२ हजार ९०६ जनाको स्वाब परीक्षण गरिएको छ। देशैभरका क्वारेन्टाइनमा ५ हजार ७७१ जना रहेका छन् भने आइसोलेसनमा ९९ जना रहेका छन्। नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।