कैलालीको चिसापानीमा सोमबारदेखि अलपत्र ३१ मजदुरलाई सम्बन्धित स्थानमा पठाइयो

कैलालीको चिसापानीमा सोमबारदेखि अलपत्र ३१ मजदुरलाई सम्बन्धित स्थानमा पठाइयो

धनगढी : देशका विभिन्न ठाउँबाट पैदल हिँड्दै ३१ जना कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानी पुगेका छन् । नेपालका विभिन्न ठाउँबाट हिँडेर सुदूरपश्चिमको प्रवेशद्वार मानिने कर्णाली चिसापानी पुगेका तिनलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने भएका छन् ।

पूर्वी नेपालमा मजदूरी गर्ने उनीहरु सोमबार हिँडेरै चिसापानी पुगेका थिए । उनीहरुलाई प्रहरीले जताबाट आयो उतै फर्काइदिएको थियो । त्यसपछि बाँके पुगेका उनीहरुलाई बाँके प्रहरीले फेरि चिसापानीतिर नै फर्काइदिएको बताइएको छ ।

चिसापानी पुगेपछि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको पहलमा सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्नेगरी तिनलाई पठाउन लागिएको छ । मान्छेलाई छाडापशु जस्तो दुःख दिनु हुँदैन, सरकार जिम्मेवार बन्न सक्नु पर्ने जिल्ला समन्वय समिति प्रमुख थापाले बताउनुभयो ।

तिनलाई सम्बन्धित स्थानीय तहले बुझेर कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नका लागि समन्वय भइरहेको नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिनुभयो ।