कोरोना भाइरसविरुद्ध ७० प्रकारका खोप विकसित

कोरोना भाइरसविरुद्ध ७० प्रकारका खोप विकसित

कोरोनाभाइरसबिरुद्ध  ७० प्रकारका खोप विकसित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । यीमध्ये ३ प्रकारका खोप भने परीक्षणको चरणमा गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

परीक्षण चरणमा गएका खोपमध्ये चीनले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप परीक्षणको दोस्रो चरणमा पुगिसकेको छ ।

अमेरिकी औषधि उत्पादक कम्पनी इनोभिओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण गर्ने क्रममा रहेको डब्ल्यूएचओले जानकारी दिएको छ । कुनै पनि खोप प्रमाणित भई प्रयोगमा आउन १० देखि १५ महिनासम्म लाग्नेछ।

तर कोरोना भाइरसविरुद्धको खोप भने द्रुत गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खोप आगामी वर्षसम्ममा आम प्रयोगमा आउने अपेक्षा गरिएको छ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म आम प्रयोगमा आउने दाबी गरेकी छन्।