कोरोना भाइरस : पछिल्लो २४ घण्टामा ७ हजार ९५९ को मृत्यु, ८४ हजारबढी संक्रमित

कोरोना भाइरस : पछिल्लो २४ घण्टामा ७ हजार ९५९ को मृत्यु, ८४ हजारबढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ ।

२० लाख ८२ हजार ३७२ संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१० देशमा फैलिएको छ । सबैभन्दा बढी संक्रमण र मानवीय क्षति अमेरिकामा पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार बिहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४८ जार ६७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।

बिहीबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको हो ।

इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ५ हजार ४१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले ज्यान गुमाएका थिए ।

एकैदिन १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ । एकै दिन ४ हजार ५६० जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ । स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।