नेपाल वायु सेवा निगमका दुवै वाइडबडी विमान स्वास्थ्य सामग्री लिन आज चीनको गोन्जाओ जाँदै छन् । निजी क्षेत्रले स्वास्थ्य सामग्री दुवै जहाज चार्टर्ड गरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
“आज साँझ ५ देखि ६ बजेबीचमा दुवै विमान चीन उड्ने तालिका छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले भने। प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले निगमका विमान कार्गो चार्टर्ड गरेका हुन्।
प्ल्यास फ्रेट लजिस्टिकले २ वैशाखका लागि बुकिङ गरेको उडान निगमले प्रक्रिया पूरा नगर्दा उडान भर्न सकेको थिएन। यसअघि २८ चैतका लागि विमान बुकिङ गरेको भए पनि चीनले भन्सार क्लियरिङ गर्न समय लाग्ने बताएपछि २ वैशाखका लागि उडान सारिएको थियो।
तर, निगमले समयमा प्रक्रिया पूरा नगरेकाले सामान ल्याउन नसकिएको प्ल्यास फ्रेट लजिस्टिकले बताएको छ। निजी अस्पताल र व्यापारिक कम्पनीले स्वास्थ्य सामग्री ल्याउन बुकिङ गरेको प्ल्यास फ्रेट लजिस्टिककी प्रमुख कार्यकारी अधिकृत अरुणा सिग्देलले बताइन्।
दुवै विमान ५ वैशाख बिहान काठमाडौं फर्किने उडान तालिका रहेको कर्णले बताए। निगमले यसअघि पनि तीनपटक काठमाडौं-गोन्जाओ कार्गो चार्टर्ड उडान गरिसकेको छ।
टाइटन एअरवेजको विमान फेरि आउँदै
नेपालमा रहेका बेलायती नागरिक लैजान टाइटन एअरवेजको विमान ५ वैशाखमा काठमाडौं आउन लागेको विमानस्थलका प्रवक्ता कर्णले जानकारी दिए।
यसअघि २६ चैतमा उक्त एअरवेजको विमानले काठमाडौंबाट दुई सय ५२ जना बेलायती नागरिक लिएर गएको थियो।
अहिले पनि करीब तीन सय बेलायती नागरिक जान लागेको कर्णले बताए। लकडाउनका कारण नेपालमा अलपत्र परेका नागरिकलाई काठमाडौंस्थित बेलायती दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ।