बैतडीमा दुई महिना भित्रै कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी

बैतडीमा दुई महिना भित्रै कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी

बैतडी : जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापनाको लागि काम अघि बढेको  छ। सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा पनि कोरोना परीक्षणका लागि पीसीआर प्रयोशाला स्थापना गर्ने निर्णय गरेसँगै यहाँ तयारी थालिएको हो।

प्रयोगशाला निर्माणको काम दुइ महिनामा सक्ने गरी शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। मेसिनको लागि प्रदेश सरकारले टेण्डर गरिसकेको उनले बताए। प्रयोगशाला स्थापनाका लागि एकदेखि दुइ करोडसम्म बजेट आवश्यक पर्ने जनाइएको छ।

प्रयोगशाला स्थापनाका लागि यसअघि  विज्ञको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डाक्टर श्रवण मिश्र नेतृत्वको टोलीले अस्पतालमा प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको हो।

प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर एचआइभी, डेंगु र अन्य जाँचका लागि समेत सजिलो हुने उनको भनाइ छ। जिल्ला अस्पतालको भवन निर्माण कार्य समेत जारी रहेकाले प्रयोगशाला स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए। 

यस्तै कोरोनाको उपचार सहयोग पु¥याउनका लागि सङघीय सरकारले ३३ जना चिकित्सकलाइ सुदूरपश्चिममा खटाएसँगै तीनजना बैतडी पुगेका छन्। इन्टरनल मेडिसिन डा.विकास साहनी र डा. डिभान्स शाह तथा अर्थोपेडिक डा. प्रकाश दर्जी बैतडी पुग्नुभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताए।

उनीहरुले जिल्ला अस्पतालमा बसेर यो महिना सेवा दिने जनाइएको छ। उनीहरुले कोरोनाका साथसाथै अन्य सेवा पनि दिने डाक्टर जोशीले बताए। जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी भएपनि अहिले दरबन्दीका एकजना पनि कार्यरत छैनन्।

करारका दुइमध्ये एकजनाको अवधि सकिएको र आफू एक्लै कार्यरत रहेको डा जोशीले बताए। अस्पतालमा एक नवौं र दुइ आठौं तहका चिकित्सकको दरबन्दी छ। ती दरबन्दी खाली  छन्। गएको ६ महिनायता जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर छैनन्।