काठमाडौंबाट रित्तै फर्कियो अमेरिकी जहाज

काठमाडौंबाट रित्तै फर्कियो अमेरिकी जहाज

केही ‘कूटनीतिक सामग्री’ बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीति सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ । कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन ।

अमेरिकी जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए ।

अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौंबाट भने रित्तै फर्किएको छ । यसअघि अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान जहाज पठाउन लागेका बताइए पनि पछि कार्गो जहाज मात्रै आउने निश्चित भएको थियो ।