सेनाले चीनबाट दुई अर्ब २५ करोडको स्वास्थ्य सामग्री ल्याउँदै, सात दिनमा आइपुग्ने

सेनाले चीनबाट दुई अर्ब २५ करोडको स्वास्थ्य सामग्री ल्याउँदै, सात दिनमा आइपुग्ने

नेपाली सेनाले चीनबाट दुई अर्ब २५ करोड रूपैयाँको स्वास्थ्य सामग्री ल्याउने भएको छ। ३४२ टन स्वास्थ्य सामग्री एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलरमा खरिद गर्ने सम्झौता भएको हो।  जसको आजको विनियमदर अनुसार २ अर्ब २५ करोड रूपैयाँ हुन्छ। 

जीटूजी प्रक्रियाबाट सामान खरिद गर्ने जिम्मा पाएको नेपाली सेनाले चिनियाँ सरकारी कम्पनी चिनियाँ साइनोफाम इन्टरनेसनल कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ। 

सेनाले ७ वैशाखमा नै नेपालको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेर पठाएको थियो। सोही दिन चिनियाँ पक्षले पनि सम्झौता पत्रमा हस्ताक्षर गरेर पठाएको हो।

स्वास्थ्य सामग्री खरिदका लागि नेपाली सेनाले राष्ट्र बैंकमार्फत् रकम पठाइसकेको छ। 

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले पत्रकारहरूसँग आज भिडिओ कन्फ्रेन्स गर्दै अत्यावश्यक सामग्री सात दिनभित्र नेपालमा ल्याइपुर्‍याउने बताए।