डिप्रेसन भगाउँन भारतीय क्वरेण्टीनमा रहेका नेपालीलाई भजन र लोकभाका गाएर मनोरञ्जन दिईदै

डिप्रेसन भगाउँन भारतीय क्वरेण्टीनमा रहेका नेपालीलाई भजन र लोकभाका गाएर मनोरञ्जन दिईदै

लकडाउनको कारण भारतीय क्वरेण्टीनमा बसेका नेपालीहरुको मनोबल बढाउन भारतीय प्रशासनले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । भारतमा क्वरेण्टीनमा बस्दा नेपालीहरुमा डिप्रेसनको समस्या देखिन थालेपछि चम्पावत प्रशासनले उनीहरुका लागि साक्षरता कक्षासँगै सङ्गीत कार्यक्रम सुरु गरेको छ । 

परिवारबाट टाढा रहेका नेपालीमा डिप्रेसनको समस्या देखिन थालेपछि उनीहरुका लागि साक्षरता कक्षासँगै साङ्गीतिक कार्यक्रम सुरु गरिएको चम्पावतका डिएम एसएन पाण्डेले जानकारी दिनुभयो । 

उहाँले क्वरेण्टीनमा रहेका नेपालीको हौसला बढाउन हरेक साँझ क्वरेण्टीनमै मनोरञ्जनात्मक कार्यक्रम गरिएको बताउनुभयो । चम्पावतका डीएम र एसपीलगायतका अधिकारी क्वरेण्टीनमा पुगेर ताली बजाउँदै नेपालीहरुको हौसला बढाउने गरेका छन् । साथै क्वरेटीनमा रहेका नेपालीहरुले पनि लोकभाका र भजनसँगै हिन्दी गीत गाएर मनोरञ्जन गरिरहेका छन् । 

फुर्सदिलो समयको सदुपयोग गर्दै भारतीय पक्षले नेपालीहरुका लागि साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको छ । जसले गर्दा भारतीय भूमिमा क्वरेण्टीनमा रहेका नेपालीहरु खुशी भएका छन् । पहिलो पटक आफ्नो नाम लेख्न सक्दा खुशी लागेको बनबासाको शारदा इन्टर कजेलको क्वरेण्टीनमा बस्नुभएका करण बोहराले बताउनुभयो । 

चम्पावत प्रशासनको अनुसार लकडाउन सकिएपछि साक्षरता कक्षामा सहभागी भएकाहरुलाई शिक्षा विभागबाट साक्षरता प्रमाणपत्र दिइने छ ।