आन्तरिक तर्फ सबैभन्दा ठूलो वायुसेवा कम्पनी बन्दै यती, पुनः धनगढी उडान गरिने

आन्तरिक तर्फ सबैभन्दा ठूलो वायुसेवा कम्पनी बन्दै यती, पुनः धनगढी उडान गरिने

यती एयरलाइन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारीमा छ। तारा एयरलाई यतीमा गाभ्ने र चार वटा एटिआर विमान थप गरी सातवटै प्रदेशमा उडान गर्न उसकाे याेजना छ।

यसका लागि सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयर ‘मर्ज’ हुँदैछन्। आन्तरिक उडान थप बलियो बनाउने उद्देश्यले दुई कम्पनी गाभ्ने निर्णय भएको यती एयरलाइन्सका बरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राई बताउँछन्।

दुवै कम्पनीका सञ्चालक एकै हुन्, आङछिरिङ लामा। उनकाे लगानीको यती वर्ल्डको अन्तरार्ष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्समा ५१ प्रतिशत सेयर छ।

सन् २०१९ भित्र यती र तारा गाभेर एउटै बनाइसक्ने राईले जानकारी दिए। दुई कम्पनीलाई मर्ज गरेर आन्तरिक उडानमा सबैभन्दा ठूलो खेलाडी बन्न यतीले काम गरिरहेको हो। हाल यतीसँग ३ एटिआर र ६ जेट स्ट्रिमगरी ९ वटा विमान छन्। तारासँग ६ वटा विमान छन्। दुवै कम्पनी गाभिँदा कूल १५ विमान हुनेछन्। आन्तरिक उडान गर्ने अन्य वायुसेवा कम्पनीसँग यति धेरै विमान छैनन्।

सन् २०१९ मै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएपछि त्यसलाई हब बनाउने र क्षेत्रीय उडान सञ्चालन गर्ने यतीले तयारी गरिरहेको छ। त्यसअघि कम्पनी गाभिसक्ने प्रवक्ता राईले  बताए।

 

यतिका जेट स्ट्रिम जहाज

यतिका जेट स्ट्रिम जहाज

 

दुई दशकको यात्रा
सन् १९९८ मा २ वटा ट्विनटर विमानबाट व्यवसायिक उडान सुरु गरेको यती हाल आन्तरिक उडानको एउटा सशक्त वायुसेवा कम्पनी हो। सुरुका दिनमा यतीले एभरेस्ट एयर, नेपाल एयरवेज, नेपाल वायुसेवा निगमसँग प्रतिस्पर्धा गरेको थियो। पछिल्लो समय यतीको मुख्य प्रतिस्पर्धा बुद्धसँग देखिन्छ।

ट्रेकिङ, हेलिकोप्टर, होटल, रिसोर्टमा समेत लगानी गरेको यती समूहले चलाइरहेको यो वायु सेवा कम्पनीका विमान लगातार दुर्घटनामा परेपछि सन् २००९ मा दुर्गम र सुगममा फरक फरक ब्रान्डमा उडान गर्न थालिएको थियो। त्यसयता सुगम क्षेका मुख्य सहरमा यती र दुर्गममा ताराले उडान गर्दै आएका छन्।

 

यतीकाे एटिअार विमान

यतीकाे एटिअार विमान

 

‘व्यवस्थापन चुस्त बनाउन दुर्गम र सुगम क्षेत्रमा उडान गर्न छुट्टाछुट्टै वायुसेवा कम्पनी दर्ता गरेका थियौं’, २० वर्षदेखि कम्पनीमा कार्यरत प्रवक्ता राई भन्छन्, ‘यतीको भगनी कम्पनीको रुपमा तारा सञ्चालन हुँदै आएको छ। कम्पनीको स्टे«न्थ बढाउन अब त्यो नीति परिवर्तन गर्न लागिएको हो।’

हाल यतीले मुख्य रुटका ८ गन्तव्यमा र ताराले दुर्गमका ९ गन्तव्यमा उडान गर्छ। यो बाहेक यतीका विमान माउन्टेन फ्लाइटमा पनि उड्छन्।

७४८ सिटकाे लक्ष्य
कम्पनी प्रवक्ता राईका अनुसार हाल यतीले माउन्टेन फ्लाइटसहित दैनिक ३० भन्दा बढी उडान गरिरहेको छ। ६ वटा जेटस्ट्रिमबाट तुम्लिङटार, जनकपुर, भरतपुर, भैरहवा, नेपालगञ्ज उडान हुन्छ। त्यस्तैगरी तीन वटा एटिआर ७२ विमानले भद्रपुर र विराटनगरमा उडान गरिरहेका छन्। दैनिक ६ वटा माउन्टेन फ्लाइट गर्ने यतीले पर्यटकीय सहर पोखरामा दैनिक १० उडान गरिरहेको प्रवक्ता राई बताउँछन्।

 

तारा एयरतारा एयर

 

यतीले उडान गर्दै आएको एटिआर विमान ७२ सिट क्षमताको र जेटस्ट्रिम ३० सिट क्षताको हो। ‘बजार विस्तार गर्न ७२ सिटे एटिआर २ र ४७ सिटे एटिआर २ वटा थप गर्न लागेका छौं,’ राई भन्छन्, ‘नयाँ आउने एटिआरबाट सिमरा र धनगडी उडान गर्ने योजनामा छौं।’

१९–१९ सिटको ४ ट्विनटर, २ ड्रोनियर विमानबाट ताराले ९ गन्तव्यमा ३० भन्दा बढी उडान गर्छ। एकै पटक १ सय १४ यात्रुलाई ताराले सेवा दिन सक्छ। फाप्लु, लुक्ला, जोमसोम, डोलपा, जोमसोम, सिमरा, बाजुरा, रारा र बझाङमा ताराले उडान गर्दै आएको छ। यी बाहेक ताराले चार्टर सेवा समेत प्रदान गर्छ।

यति र तारा गाभिँदा १५ विमान र ५ सय १० सिट क्षमता हुनेछ। थप हुन लागेका ७२ सिट क्षमताका दुई र ४७ सिट क्षमताका २ गर्दा यतिसँग कूल ७४८ सिट क्षमता पुग्नेछ। बुद्ध एयरसँग ११ विमान ६ सय ८ सिट संख्या छ।