महाकाली नदीबाट जङार तर्दै लकडाउन तोडेर भारतबाट दुई जना नेपाल आए

महाकाली नदीबाट जङार तर्दै लकडाउन तोडेर भारतबाट दुई जना नेपाल आए

दार्चुला : लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुको नेपाल भित्रिने क्रम रोकिएको छैन । कहिले पौडी खेलेर, कहिले ट्युव तरेर त कहिले जङार तरेर नेपाल भित्रिरहेका छन् । 

शुक्रवार मात्रै महाकाली नगरपालिकाको वडा नम्बर ९ उडै क्षेत्रबाट महाकाली नदिबाट जङार तरेर २ जनाले नेपाल प्रवेश गरेका छन् । 

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ६ निम्ठा बस्ने २५ वर्षीय प्रजापति देउरुखी र सोही ठाउँका २२ वर्षीय रेखा बोहरा देउरुखीले शुक्रवार विहान ९ः१५ बजेतिर नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले जानकारी दिए । 

उनीहरुलाई नियन्त्रणमा लिइ नगरपालिकाको क्वारेन्टाइनमा राखिएको महाकाली नगरपालिका विपद व्यवस्थापन शाखाका संयोजक भुवन जोशीले बताए । पछिल्लो समय सशस्त्र प्रहरीले सिमा क्षेत्रमा निगरानी बढाएको छ । बाइना कुलरबाट सिमाको निरीक्षण गरिरहेको गुल्मपति विष्टले बताए । 

भारतबाट अवैध रुपमा महाकाली नदी तरेर आउने नेपालीलाई रोक्नको लागि दार्चुलाको लालीदेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ । 

सशस्त्र प्रहरीले ९ ठाउँमा अस्थायी पोष्ट राखेर सीमामा निगरानी गरिरहेको भएपनि नेपालीहरुको भने आउने क्रम रोकिएको छैन ।

सशस्त्र प्रहरीले नेपाली आउने सम्भावित नाकाहरुमा अस्थायी पोष्ट राखेर सशस्त्र परिचालन गरेको छ । जिल्लाको लेकम गाउँपालिकाको रतौडा र लाली, मालिकार्जुन गाउँपालिकाको उकु, बाकु र डिन्सी, महाकाली नगरपालिकाको काँकडा र किम्तडी र ब्यास गाउँपालिकाको स्याँकु र डोकटमा सशस्त्र प्रहरीको अस्थाई पोष्ट स्थापना गरि सिमा क्षेत्रको निगरानी भइरहेको डिएसपी विष्टले जानकारी दिए ।