सिमामा फसेका १ हजार २ सय ९६ नेपालीलाई नेपाल ल्याइयो

सिमामा फसेका १ हजार २ सय ९६ नेपालीलाई नेपाल ल्याइयो

दार्चुला : लकडाउनका कारण भारतको पिथौरागढ जिल्ला अन्र्तगत पर्ने विभिन्न सिमामा विगत एक महिना देखि फसिरहेका १ हजार २ सय ९६ जना नेपालीलाई विहीवार नेपाल ल्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतिय प्रशासनको समन्वयमा सिमा पुल खुलाइ उनीहरुलाई नेपाल ल्याइएको हो । कोरोना संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण भारतमा मजदुरी गर्न गएका सुदुरपश्चिम प्रदेश लगायत अन्य जिल्लाका नेपाली नागरिकहरु विगत एक महिना देखी नेपालसंग सिमा जोडिएको धारचुलाको सिमानाकामा फसेका थिए ।

उनीहरुलाई नेपाल ल्याई सम्बन्धित जिल्ला पठाइएको छ । सिमावर्ती क्वारेन्टाइमा विगत एक महिना देखि बसेका १ हजार २ सय ९६ जना नेपाली मध्ये खलंगाको नाकाबाट ३ सय ७६ र दत्तुको नाकाबाट ९ सय २० जनालाई नेपाल ल्याइएको हो । सिमावर्ती क्वारेन्टाइनमा बस्दा तथा लकडाउन भएपछि निकै समस्या परेको बझाङ बुङगल नरपालिकाका जयबहादुर कठायतले गुनासो गर्नुभयो ।

लकडाउनका कारण विगत एक महिना देखि सिमावर्ती क्वारेन्टाइनमा बसेका नेपालीहरुको भारतिय स्वास्थ्यकर्मीहरुले चेकजाँच गरेको तथा कोरोनाको कुनै संक्रमण नभएको धारचुला तहशिलका उप जिलाधिकारी अनिल कुमार शुक्लाले बताए ।

नेपाल‐भारत प्रशासन संगको समन्वयमा ३५ दिन पछि नेपाल ल्याइएका उनीहरुलाई स्वास्थ्य चेकजाँच तथा खाजा खुवाएर सम्बन्धित जिल्ला पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । पुल साढे पाचँ बजे बन्द गरिएको भएपनि केही नेपाली अझै भारतमा रहेका कारण उनीहरुका लागि पुन पुल खुलाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए ।