ह्वाइट हाउसमा बल्ल पुग्यो मास्क !

ह्वाइट हाउसमा बल्ल पुग्यो मास्क !

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प र उपराष्‍ट्रपति माइक पेन्सको भित्री सर्कलमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि बल्ल ह्वाइट हाउसमा मास्क भित्रिएको छ।

राष्‍ट्रपति ट्रम्पका सहयोगीहरूका लागि मास्क पहिरिन अनिवार्य गरिएको छ। तर, अझै पनि राष्‍ट्रपति ट्रम्पका लागि मास्क अनिवार्य गरिएको छैन। अहिलेसम्म उनी मास्क पहिरिएर सार्वजनिक समारोहमा देखिएका छैनन्।

कोभिड-१९ का कारण ८० हजार ८७ जना अमेरिकीले ज्यान गुमाएपछि मात्र ह्वाइट हाउसमा मास्क पहिरिने चेतना जागृत भएको हो।

अहिलेसम्म चीनमाथि भाइरस फैलाएको आरोप लगाउँदै आएका ट्रम्पले पछिल्लो प्रेस ब्रिफिङमा भने कोरानालाई नै ‘गुप्त दुश्मन’को संज्ञा दिए। त्यसविरुद्धको युद्धमा दैनिक डेढ लाखदेखि तीन लाख जनाको परीक्षण भइरहेको बताए।

उनका अनुसार सोमबारसम्ममा अमेरिकामा ९० लाखभन्दा बढी मानिसको परीक्षण गरिसकिएको छ, जसमा १३ लाख ३७ हजार बिरामी पनि सामेल छन्।

कोभिड-१९ ले थिलथिलो बनाएको अर्थतन्त्र अर्को वर्ष राम्रो अवस्थामा पुग्ने ट्रम्पले दाबी गरे। बजारमा अत्यधिक माग रहँदा अर्थव्यवस्थामा हरियाली छाउने उनको भनाइ थियो।

अमेरिकामा कोराना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण हालसम्म तीन करोड ३० लाख मानिस बेरोजगार भइसकेका छन्।