कोभिड-१९: अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव

कोभिड-१९: अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव

अमेरिकाको माथिल्लो सदन सिनेटमा कोभिड-१९ को महामारीलाई लिएर चीनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव ल्याइएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार सत्तारुढ रिपब्लिकन सांसदहरूले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने गरी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई अधिकार दिने कानून ल्याउन प्रस्ताव गरेका हुन्।

चीनले कोरोना भाइरसबारे पूर्ण जानकारी सार्वजनिक नगरेमा प्रतिबन्धको कदम उठाउनुपर्ने उनीहरूको प्रस्ताव छ।

“चीनको कम्युनिस्ट सरकारलाई यस विश्‍वव्यापी महामारीका लागि जिम्मेवार ठहर्‍याउनु उचित हुन्छ,” रिपब्लिकन सांसद जिम इन्होफले भने, “संक्रमणको शुरुवातमा चीनले पूर्ण रूपमा धोका दिएको छ। सोही कारण दुनियाँको समय र जिन्दगी बर्बाद भएको छ।”

प्रस्तावित कानूनको नाम ‘कोभिड-१९ अकाउन्टिबिलिटी विधेयक’ हो। प्रस्तावित कानूनअनुसार राष्‍ट्रपति ट्रम्पले ६० दिनभित्र चीनले पूर्ण जानकारी दिएको संसद्लाई स्पष्‍ट गर्नुपर्नेछ। सोही आधारमा संयुक्त राष्‍ट्रसंघ या उसका संगठनहरूले जाँच शुरु गर्न सक्नेछन्।

प्रस्तावित कानूनअनुसार राष्‍ट्रपति ट्रम्पले संसद्लाई चीनको सबैभन्दा जोखिमयुक्त पशु बजार बन्द भएको र हङकङमा लोकतन्त्र समर्थक प्रदर्शनकारीहरूलाई रिहा गरिसकिएको जानकारी गराउनुपर्नेछ।

यदि त्यसो भएन भने राष्‍ट्रपति ट्रम्पलाई चीनमाथि धेरै प्रकारका प्रतिबन्ध लगाउने अधिकार हुने प्रस्तावमा उल्लेख छ। सम्पत्ति फ्रिज गर्ने, यात्रामा प्रतिबन्ध लगाउने, भिसा रद्द गर्ने, चिनियाँ कम्पनीहरूलाई अमेरिकी बैंक र बजारहरूमा पहुँचबाट रोक्नेलगायत अधिकार उक्त कानूनले ट्रम्पलाई दिनेछ।

“चीनले वुहान प्रयोगशालाको अनुसन्धान गर्ने प्रस्ताव अस्वीकार गरेको छ। कुनै गम्भीर जाँचका लागि चीनले सहयोग नगर्ने स्पष्‍ट नै छ,” कोभिड-१९ अकाउन्टिबिलिटी बिलका समर्थक तथा रिपब्लिकन सांसद लिन्जी ग्राहमले भने, “चीनले हामीलाई बाध्य बनाएको छ।”