बन्दोबस्तीका सामान लिएर कालापानी क्षेत्र उड्यो सेनाको हेलिकप्टर

बन्दोबस्तीका सामान लिएर कालापानी क्षेत्र उड्यो सेनाको हेलिकप्टर

दार्चुला : दार्चुलाको कालापानी क्षेत्रका लागि सेनाको हेलिकप्टर बन्दोबस्तीका सामान लिएर उडेको छ । बुधवार काठमाडौंबाट दार्चुला पुगेको नेपाली सेनाको हेलिकप्टर विओपीका लागि आवश्यक पर्ने सामान र सशस्त्र प्रहरीको टोली लिएर कालापानी क्षेत्र प्रस्थान गरेको हो ।

कालापानी नजिकै छाङरुमा स्थापना हुने सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली गएको हो । टोलीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी बलका एआईजी नारायण बाबु थापा समेत रहेका छन् ।

कालापानी भन्दा १२ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि यसअघि नै जग्गाको टुङ्गो लागि सकेको छ । उक्त स्थानमा विओपी स्थापनार्थ ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु हेलिकप्टर मार्फत ओसारपसार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्टले जानकारी दिए ।

भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले सडक देखी सदन सम्म चौतर्फी बिरोध भइरहेको छ । छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरुले सीमा रेखदेखका साथै अपराध नियन्त्रणमा भूमिका खेल्ने जनाइएको छ ।