सीमा अतिक्रमणको विरोधमा नेविसंघले दिपायलमा मोदी र ओलीको पुत्ला दहन

सीमा अतिक्रमणको विरोधमा नेविसंघले दिपायलमा मोदी र ओलीको पुत्ला दहन

डोटी– भारतले नेपाली सीमा मिचेको विरूद्ध नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ डोटीले दिपायलमा प्रदर्शन गरेको छ । विहिबार साँझ नेवीसंघले प्रदर्शनसहित भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपीशर्मा ओलीको पुतला दहन गरेको छ ।

नेपाली भूमि लिपूलेक, कालापानी र लिम्पियाधुरामाथि भारतले हस्तक्षेप गरेकोले भारतिय प्रधानमन्त्री मोदी र भारतले नेपाली सीमा मिच्दै सडक बनाउदासम्म चुपचाप बसेकोले नेपाली प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको नेविसंघ डोटीका नेता दीपेन्द्र सिँहले बताए ।
प्रदर्शनपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति विजय खड्काले प्रधानमन्त्रीको खोक्रो राष्ट्रबाद नाङ्गिएको बताए । उनले भने,’विगतमा राष्ट्रबादको चर्को नारा लाएर चुनाव जितेका कमरेड ओली अहिले लम्पसारबादमा परिणत भएको छ ।’

नेपाली काङ्ग्रेस डोटीका जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्काले भारतले सीमा मिच्दा, नेपाली भूमिमा सडक खन्दा प्रधानमन्त्रीलाई थाहा नहुने भन्ने कुरा हास्यास्पद रहेको बताए । ‘भारत र चीनको मिलेमतोमा रोड काट्दा प्रधानमन्त्रीलाई थाहा नहुनु भन्ने कुरा हास्यास्पद छ । थाहा नभएको हो वा नपाएजस्तो गरेको हो रु कि यसका लागि केही व्यक्तिगत सहयोग मिलेको छ ’ उनले भने ।
कार्यक्रममा नेविसंघका नेताहरू रेशमबिक्रम खड्का र श्याम ओझाले पनि मन्तव्य राखेका थिए ।