बन्द स्थानभित्र गफ गरे पनि सर्नसक्छ कोरोना भाइरस

बन्द स्थानभित्र गफ गरे पनि सर्नसक्छ कोरोना भाइरस

कुराकानी गर्दा मुखबाट उछिट्टिने थुक वा र्‍यालका छिटाहरू कोरोना भाइरस सार्न पर्याप्त भएको अनुसन्धाताले बताएका छन्।

एक मिनेटसम्म ठूलो स्वरमा बोल्दा एक हजारभन्दा धेरै भाइरस भएका छिटाहरू उत्पादन हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। अमेरिकाको प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित नयाँ अध्ययन अनुसार यसरी उत्पादन हुने छिटाहरू हावामा आठ मिनेटसम्म रहनसक्छन्।

अमेरिकाका विभिन्न राज्यहरू विस्तारै खुल्न थालेका छन्। बन्दाबन्दी चाँडै खोले भाइरसको महामारी गम्भीर बन्दै जानसक्छ भनेर वैज्ञानिकहरू डराएका छन्। नेसनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजका निर्देशक डा. एन्थोनी फौचीमा सिनेटलाई उपयुक्त मार्गनिर्देशन पालन नगरी बन्दाबन्दी खोलिरहेका राज्यले गम्भीर परिणाम भोग्ने सम्भावना रहेको बताए।

लक्षण नदेखिएको व्यक्तिको मुखमा हुने थुक वा र्‍यालका छिटामा सार्स कोभ-२ जस्ता श्वास्प्रश्वाससम्बन्धी किटाणु हुनसक्ने भएकाले सामान्य कुराकानी गर्दा पनि बन्द वातावरणमा हावाबाट भाइरस सर्ने सम्भावना भएको अध्ययनमा उल्लेख गरिएको छ।

“कुराकानी गर्दा सार्स कोभ २ सर्नसक्छ भनेर यही टोलीले पहिले नै अनुसन्धान गरेको थियो। त्यसैको आधारमा नयाँ अध्ययनले सिडिसिले सिफारिश गरे अनुसार मास्क लगाउनुको महत्त्वलाई बल पुगेको छ। यसले भाइरस फैलिनबाट रोक्नसक्ने सम्भावना छ,” नेसनल इन्स्टिट्युट अफ डायबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिजेजका एक अधिकारीले भने। 

म्यासाच्युसेट्स डार्टमाउथ विश्वविद्यालयको जीवविज्ञानका प्राध्यापक एरिन ब्रोमेजको हालै प्रकाशित कोभिड १९ सर्ने उच्च जोखिम भएका वातावरण सम्बन्धी एउटा ब्लग भाइरल भएको थियो। कार्यस्थल, सार्वजनिक यातायात, सामाजिक भेला, रेस्टुरेन्ट र घरमा भाइरस सर्ने मुख्य स्थान भएको ब्रोमेजले ब्लगमा लेखेका छन्।

“कोभिड १९ को साझा विशेषता देखाउनलाई यी घटनाहरू प्रस्तुत गरिएका हुन्। सबै संक्रमण भित्रै भएका छन्। नजिक बसेका कुराकानी गर्ने, गीत गाउने वा चिच्याउने स्थानहरूमा भएका छन्,” ब्रोमेजले लेखेका छन्। अमेरिकाभरि भएका संक्रमणका घटनालाई उनले उद्धृत गरेका हुन्।

राज्यहरू खुल्दै जाँदा केही निश्चित स्थानबाट टाढै रहनुपर्ने ब्रोमेजले बताएका छन्। “हावाको राम्रो बहाव नहुने, सबै कुरा त्यही घुमिरहने र होहल्ला हुने उपयुक्त व्यक्ति संख्या कायम नराख्ने जुनसुकै कार्यालय वा वातावरणमा म बस्न चाहन्न,” ब्रोमेजले भने।