डब्लुएचओको चेतावनी- ‘कोभिड-१९ ले मानसिक स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याउँदैछ, लगानी बढाऊ’

डब्लुएचओको चेतावनी- ‘कोभिड-१९ ले मानसिक स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याउँदैछ, लगानी बढाऊ’

विश्वव्यापी महामारी कोभिड–१९ का असर विभिन्न क्षेत्रमा देखिन थालेका छन्। यसले संसारभर भएको मृत्युको ग्राफ त कहालीलाग्दो छ नै, अर्थतन्त्र र जीविका पनि छिन्नभिन्न बनाएको छ।

योसँगै अझ डरलाग्दो अर्को समस्या देखिन थालेको छ। त्यो हो, मानसिक स्वास्थ्यमा परेको गम्भीर असर। कोभिड–१९ का कारण आउँदा महीनामा मानसिक स्वास्थ्यमा ठूलो असर पुग्ने आकलन गर्दै संयुक्त राष्ट्र संघले आज एक नीति पत्र जारी गरेको छ र यस क्षेत्रमा लगानी बढाउन जोड दिएको छ। 

“यो विश्व्यापी महामारीले मानसिक स्वास्थ्यमा पारेको असर पहिले नै चिन्ताजनक भइसकेको छ”, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने, “सामाजिक एक्लोपन, संक्रमणको डर र परिवार सदस्य गुमाउनुपरेको पीडामा आय र रोजगारीसम्म गुमाउनुपरेको चिन्ता पनि थपिएको छ।”

निराशा र बेचैनी बढेको छ 

विभिन्न देशमा गरिएको अनुसन्धानले पहिले नै निराशा र बेचैनी बढेको देखाएका छन्। अप्रिल २०२० मा इथियोपियामा गरिएको अनुसन्धानले महामारीपछि तीन गुणाले निराशा (डिप्रेसन) बढेको देखाएको छ। 

जनसंख्याको एउटा विशेष समूह कोभिडसँग सम्बन्धित मानसिक स्वास्थ्य असरको जोखिममा छन्। अघिल्लो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूले कामको चाप, जीवन र मृत्युको छनोट र संक्रमणको जोखिमसँग जुध्न परेको छ। महामारीका समयमा चीनका स्वास्थ्यकर्मीहरूमा डिप्रेसन (५० प्रतिशत), बेचैनी (४५ प्रतिशत) र अनिद्रा (३४ प्रतिशत) उच्च रूपमा देखिएको थियो। त्यस्तै क्यानडाका ४७ प्रतिशत स्वास्थ्यकर्मीहरूले मानसिक साथ चाहिएको बताएका छन्। 

बालबालिका र किशोरकिशोरीहरू पनि जोखिममा छन्। इटली र स्पेनका अभिभावकले आफ्ना बच्चाहरू ध्यान केन्द्रित गर्न नसक्ने, दिक्क मान्ने, बेचैन हुने, आत्तिने जस्ता समस्याको पीडित भएको बताएका छन्। घरमै बस्नुपर्ने बाध्यताले बालबालिकालाई हिंसा र दुव्र्यवहारको शिकार हुनुपर्ने वा प्रत्यक्षदर्शी बन्नुपर्ने बाध्यतामा धकेलेको छ। मुख्यतः अपांगतायुक्त बालबालिका, भीडभाडमा बस्नुपर्ने बालबालिका र सडक बालबालिकाहरू जोखिममा छन्। 

मानसिक स्वास्थ्य असरको अर्को जोखिममा महिलाहरू छन्। खासगरी घरबाट काम गर्नुपर्ने र घरको काम पनि गर्नुपर्ने महिलाहरूलाई बढी मार परेको छ। त्यस्तै वृद्धवृद्धा र पहिले नै मानसिक रोगको शिकार बनेकाहरू पनि जोखिममा छन्। बेलायतमा पहिले मानसिक रोगको शिकार भएका युवाहरूमा गरिएको सर्वेक्षणमा ३२ प्रतिशतले यो महामारीका कारण आफ्नो मानसिक स्वास्थ्यमा असर पुर्‍याएको बताएका थिए। 

मानसिक स्वास्थ्य रोगका विशेषज्ञका अनुसार महामारीका कारण मद्यपान पनि बढिरहेछ। क्यानडामा गरिएको अध्ययनले १५ देखि ४९ उमेर समूहका व्यक्तिमा २० प्रतिशतले मद्यपान बढेको छ। 

मानसिक स्वास्थ्य सेवा बिथोलिएको छ 

महामारीका कारण मानसिक स्वास्थ्य बिथोलिएको यो बेलामा धेरै देशमा मानसिक स्वास्थ्य सेवा भने बिथोलिएको छ। कोभिड–१९ सँग जुध्न सम्पूर्ण जनशक्ति र भौतिक शक्ति प्रयोग गरिएको छ। अर्कोतर्फ मद्यपान र लागूपदार्थका दुर्व्यसनमा लागेकालाई सहयोग गर्ने समूहहरूले पनि विभिन्न देशमा महीनौंदेखि भेटघाट गर्न सकिरहेका छैनन्।

“कोभिड–१९ सँग जुध्ने प्रक्रियाकै रूपमा मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ भन्ने स्पष्ट भएको छ”, टेड्रोस अधानोमले भने, “सिंगो संयुक्त राष्ट्र संघको प्रणालीसँग मिलेर सरकार र नागरिक समाजले यो क्षेत्रमा सामूहिक प्रयत्न गर्नुपर्छ। मानिसको भावनात्मक स्वास्थ्यलाई सम्बोधन गर्न सकिएन भने यसले समाजलाई दीर्घकालीन रूपमा सामाजिक र आर्थिक क्षति पुर्‍याउँछ।”

सेवा प्रवाह गर्ने माध्यम खोज्दै 

मानसिक स्वास्थ्यको समस्यामा रहेका व्यक्तिलाई आवश्यक नियमित उपचार जटिल बनेको छ। विभिन्न देशमा मानसिक स्वास्थ्य उपचार र सहयोगको पद्धतिमा परिवर्तन गरिएको छ। स्पेनको मड्रिडमा मानसिक स्वास्थ्यका रोगीका लागि छुट्टयाइएका बेडमध्ये ६० प्रतिशत कोभिड–१९ का रोगीलाई छुट्याइएको छ।

त्यहाँ मानसिक स्वास्थ्यका गम्भीर बिरामीलाई निजी क्लिनिकमा लगिने व्यवस्था गरिएको छ। स्थानीय नीति निर्माताले मानसिक स्वास्थ्यकर्मीले फोनबाट भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छन्। जटिल अवस्थामा घरमै गएर उपचार गर्ने बन्दोबस्त मिलाइएको छ। इजिप्ट, केन्या, नेपाल, मलेसिया र न्यूजिल्याण्ड लगायतका देशमा मानसिक स्वास्थ्यका रोगीका लागि आवश्यक परे घरमै पुगेर उपचार दिने आपतकालीन टेलिफोनहरू तयार पारिएको जनाइएको छ। 

वृद्धवृद्धाजस्ता उच्च जोखिममा रहेका व्यक्तिलाई सामाजिक साथ र एक्लोपन घटाउने सामूहिक अभ्यास आवश्यक छ। त्यस्तो सहयोग सरकार, स्थानीय अधिकारी, निजी क्षेत्र र समाजका विभिन्न तहबाट आवश्यक हुन्छ।

बलियो आड खडा गर्ने अवसर 

“विश्वभर नै नयाँ तरिकाले मानसिक स्वास्थ्य सेवा प्रवाहको पुनर्गठन गर्नुपर्ने आवश्यकताले भविष्यका लागि बलियो मानसिक स्वास्थ्य सेवा प्रवाह प्रणाली स्थापना गर्नेछ”, विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य विभागकी निर्देशक डेभोरा केस्टल भन्छिन्, “यसको अर्थ हो सामुदायिक तहमा मानसिक स्वास्थ्य सेवा प्रवाह, मानसिक स्वास्थ्यको बीमा र यस क्षेत्रमा जनशक्तिको निर्माणलाई जोड दिइनेछ।”

-विश्व स्वास्थ्य संगठनको प्रेस ब्रिफबाट