लकडाउनको उल्लघंन गरेको आरोपमा नेपाल-भारत सीमा क्षेत्रमा राति भेटिएका तीन जना पक्राउ

लकडाउनको उल्लघंन गरेको आरोपमा नेपाल-भारत सीमा क्षेत्रमा राति भेटिएका तीन जना पक्राउ

धनगढी : नेपाल भारत सीमामा पुगेका तीन जनाविरुद्ध कैलाली प्रहरी मुद्दा चलाएको छ । हिजो बिहान करिब ३ बजे उनीहरू भजनी नगरपालिका ५ कौवाखेडा स्थित डाक्टरघाटबाट पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ सुखडका हिक्मतबहादुर शाही, रविन शाही र बर्दगोरिया गाउँपालिका ४ मुडाबजारका लालबहादुर बिक छन् । प्रारम्भिक अनुसन्धानबाट शाहीद्वयले सुखडमा साँडेपानी पोलिक्लिनिक र बिकले मुडाबजारमा भुपु सैनिक क्लिनिक सञ्चालन गर्दै आएको खुलेको छ ।

बिक सेनाका पूर्वहवल्दार हुन् । रातिको समयमा सीमामा भेटिएका उनीहरू भारतबाट आउने औषधि लिन गएको खुलेको कैलाली प्रहरीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध सार्वजनिक स्वास्थ्य हितविरुद्धको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।