पलियामा ४९ दिनदेखि क्वारेन्टाइनमा रहेका एक सय ८० जनालाई आज नेपाल ल्याइदै

पलियामा ४९ दिनदेखि क्वारेन्टाइनमा रहेका एक सय ८० जनालाई आज नेपाल ल्याइदै

धनगढी : सीमावर्ती भारतीय बजार पलियामा ४९ दिनदेखि क्वारेन्टाइनमा रहेका एक सय ८० जना नेपालीलाई आज नेपाल भित्र्याइँदै छ । पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका आठ, बझाङका तीन र डोटीका तीनजना छन्।

यस्तै, दैलेखका तीन तथा कास्की, सिन्धुली र रौतहटका एक एक जना छन्। तीमध्ये चार महिला र तीन बालबालिका छन् । गृह मन्त्रालयको अनुमति नआएकाले उनीहरूको उद्धार हुन  सकेको थिएन । स्थानीय प्रशासनको लामो प्रयासपछि उनीहरुको आज उद्धार हुन लागेको हो ।

उनीहरूलाई उद्धार गर्न हिजो मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराबीच छलफल भएको थियो । उनीहरुको आज साँझसम्म उद्धारका लागि पहल भइरहेको प्रजिअ बोहराले बताए।