'आमा बचाउ, मानवता जगाउ' अभियान अन्तर्गत धनगढीमा २५७ जनालाई पोषण खाना उपलब्ध

'आमा बचाउ, मानवता जगाउ' अभियान अन्तर्गत धनगढीमा २५७ जनालाई पोषण खाना उपलब्ध

धनगढी : सरकारले गरेको लकडाउनका बेला समस्यामा रहेका अतिविपन्न सुत्केरी तथा गर्भवतीहरूलाई पोषणयुक्त खाना दिन शुरू गरिएको छ।

सुत्केरी तथा गर्भवतीहरूलाई पोषणयुक्त खानाको अभाव हुन नदिन नेपाल विद्यार्थी संघ क्षेत्र ५ कैलाली र सुरक्षित मातृत्व सञ्जालको समन्वयमा 'आमा बचाउ, मानवता जगाउ' अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका २५७ जना सुत्केरी तथा गर्भवतीलाई पोषण खाना उपलब्ध गराइएको हो।

पोषण खानाअन्तर्गत परिवार हेरेर २० देखि २५ किलो चामल, एक लिटर खाने तेल, एक क्यारेट अण्डा, नुन, चिनी एकरएक किलो, दाल दुई किलो, आलु पाँच किलो, डिटोल साबुन दुई थान र मास्क एक थान उपलब्ध गराइएको नेविसंघ क्षेत्र ५ का सभापति गजेन्द्रविक्रम शाहीले जानकारी दिए।

उनले सुत्केरी तथा गर्भवतीहरूलाई पोषणको कमी नहोस् भन्नका लागि पोषणयुक्त खाना वितरण गरेको बताए। उनले अभियानलाई देश तथा विदेशबाट सहयोग प्राप्त भएको बताउँदै सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवादसमेत दिए ।