विदेशमा रहेका परिवारका सदस्यहरुलाई फोनबाटै मनोसामाजिक परामर्श

विदेशमा रहेका परिवारका सदस्यहरुलाई फोनबाटै मनोसामाजिक परामर्श

धनगढी : रोजगारीको शिलशिलामा विदेशमा रहेकाहरुका परिवारका सदस्यहरुलाई फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । कैलालीका चार वटा स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत परामर्श दिने कार्य भइरहेको हो ।

यस्तै विदेशमा रहेकाहरुको स्वास्थ्य, कामको अवस्था आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य पनि भइरहेको परियोजनाले जनाएको छ । कोरोना भाइरसको त्रासका कारण मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको परियोजनाअन्तर्गत घोडाघोडी नगरपालिकामा कार्यरत मनोसामाजिक परामर्शकर्ता ममता बमले बताइन् ।

विदेशमा अफ्ठेरामा परेकाहरुका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरुलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उनले बताइन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन लागू गरिएको लकडाउनयता घोडाघोडी नगरपालिकामा मात्र २४ जनालाई परामर्श दिइएको छ ।

विदेशमा रहेकाहरु समस्यामा परेको भए समाधानका लागि स्थानीय तहमार्फत सरकारसँग समन्वय गर्ने कार्य पनि भइरहेको परियोजनाका वित्तीय साक्षरता सहजकर्ता कमला जोशीले बताइन् । विदेशमा रहेकाहरुका परिवारको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भए राहत उपलब्ध गराउनका लागि सम्बन्धित वडा कार्यालय र स्थानीय तहमा समन्वय गरिदिने काम परियोजनाले गरिरहेको जोशीले बताइन् ।

‘वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाएकाहरुलाई लकडाउनकै बेला पनि फोनमार्फत् वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानीबारे जानकारी दिइरहेको छौँ ।’ उनले भनिन् ।

परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय कैलाली र इलाका प्रशासन कार्यालय टीकापुरमा सुरक्षित आप्रवासन केन्द्र स्थापना गरेर विदेश जान राहदानी बनाएकाहरुलाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिँइदै आएको छ ।

नेपाल सरकार र स्वीस सरकारको सम्झौताअनुसार हेल्वेटासको सहयोगमा टे«स कैलालीले यहाँको धनगढी उपमहानगरपालिका, टीकापुर र घोडाघोडी नगरपालिका तथा जानकी गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना लागू गरेको छ ।