राहतमा कुहिएको चामल प्रकरण : छानबिन समिति द्धारा विभिन्न वडामा अनुगमन जारी

राहतमा कुहिएको चामल प्रकरण  : छानबिन समिति द्धारा विभिन्न वडामा अनुगमन जारी

धनगढी : राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण गरेपछि बिवादमा आएको धनगढी उप–महानगरपालिकाले गठन गरेको छानबिन समितिले दोस्रो दिन पनि अनुगमन जारी राखेको छ ।

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले पहिलो दिन वडा नम्बर ४ को गोदाममा अनुगमन गरेकोमा आज दोस्रो दिन वडा नम्वर १,५ र १२ नम्बरमा अनुगमन गरेको हो ।

वडा नम्वर ५ को सामुदायिक प्रहरी कार्यालयमा रहेको गोदाममा अनुगमन गरिएको हो । वडा नम्वर ५ मा १५ किलोग्राम तौल भएका सबै कठ्ठा (पोका) चामल कुहिएको फेला परेको छ । धनगढी छानविन समितिले दिएको जानकारी अनुसार वडा नम्वर ५ मा १५ किलोका ८ सय ८७ कठ्ठा चामल कुहिएको र किरा परेको भेटिएको हो ।

८ सय ८७ पोकामा १३ हजार तीन सय पाँच किलो चामल कुहिएको भेटिएको छानविन समितिले जनाएको छ । त्यस्तै वडा नम्बर १ मा ४७ कट्ठा चामल कुहिएको फेला परेको छ । स्थानियले कुहिएको चामल आएपछि चामलनै फिर्ता गरेका छन् ।

वडा नम्बर १ की स्थानिय पार्व्ति फुलाराले शुरुमा राहतनै नपाएका बेला फेरी कुहिएको चामल दिएपछि फिर्ता गरेको बताइन् । स्थानियले कुहिएको चामल उपलब्ध गर्ने ठाकुर ट्रेड लिंकलाई कडा कार्वाह ीगर्न माग गरेका छन् ।

महामारीका बेला कुहिएको चामल बाँड्ने उप महानगरपालिका र चामल बिक्रेतालाई हदैसम्मको कार्वाही हुनुपर्ने उनिहरुको माग छ । महामारीका बेला झन जनताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कार्वाही हुनुपर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ कै नर बहादूर बिकको माग छ ।

छानविन समितिलाई तीन दिन भित्रै प्रतिवेदन बुझाउन पर्नेछ । छानबिन समितिका सदस्य बल बहादूर ऐरले नागरिकको गुनासाका आधारमा टोलमै गएर अनुगमन गरिरहेको बताए । साथै गोदाममा रहेको चामलकोपनि अनुगमन गरिरहेको उनले बताए ।

धेरै स्थानमा कुहिएको तथा कनिका बढी भएको चामल भेटिएकाले अनुगमनमा कुनै कसुर नराखी नागरिकको माग अनुसार कार्वाहीका लागी सिफारिस गरिने उनले बताए । समितिमा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक, वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य तथा उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन् ।

धनगढीका विभिन्न वडामा उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले फिर्ता गरेका थिए। धनगढी उप–महानगरपालिकाले २ करोड ६१ लाखमा ठाकुर ट्रेड लिंकलाई राहत सामाग्री खरिदको टेण्डर दिएको थियो ।