भारतीय भूमि गौरीफन्टाबाट बुधबार साझ साढे ८ सय भन्दा बढी नेपालीको उद्धार

भारतीय भूमि गौरीफन्टाबाट बुधबार साझ साढे ८ सय भन्दा बढी नेपालीको उद्धार

धनगढी : लामो समय सीमा क्षेत्रको भारतीय  भूमिमा रोकिएका नेपालीलाई बुधबार स्वास्थ्य परीक्षण नगरी स्वदेश फर्किन दिइएको छ । बुधबारमात्रै भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो । उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन  ।

उनीहरुको सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न र त्यही क्वारेन्टाइनमा राख्ने हुँदा सीमामा परीक्षण नगरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावादलगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु गौरीफन्टा नाकामा अलपत्र परेका थिए । जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाएको हो ।

बुधबार दिउँसो २ बजेदेखि उद्धार सुरु गरिएको साँझसम्म ८ सय ५८ जनाको उद्धार गरिएको कैलालीका प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए । उनीहरुलाई गन्तव्यमा पुर्‍याउन स्थानीय तहले बसको व्यवस्था गरेका छन् ।