माछा मार्ने क्रममा कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि तीन जना पक्राउ

माछा मार्ने क्रममा कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि तीन जना पक्राउ

धनगढी : कर्णाली नदिबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीका एकजनाको मृत्यु भएपछि तीन जना पक्राउ परेका छन । जिल्लाको जानकी गाउँपालिका वडा नम्वर १ भुर्सा बस्ने प्रकाश चौधरीको मृत्यु भएपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएपछि करेन्ट छोड्ने तीन जनालाई पक्राउ गरी मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्वर १ ज्योतीनगरका ३८ बर्षीय डम्मरवहादुर राजी, ३६ बर्षीय शेरसिंह लुहार र ५६ बर्षीय भाने साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरुलाई कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गर्दै अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा फेला परेको १ फिट ८ ईन्च लम्बाई भएको बासको लठ्ठि १ थान, सो लठ्ठिमा बाँधेको २४ मिटर लामो बिद्युतको तार र डम्मर राजीको घर कोठामा फेला परेको १७५ मिटर लामो बिद्युतको तार समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।