गुल्मीका कोरोना संक्रमित विरामीको मृत्यु, अस्पतालले गर्‍यो पुष्टि

गुल्मीका कोरोना संक्रमित विरामीको मृत्यु, अस्पतालले गर्‍यो पुष्टि

रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत बिरामी गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षका पुरुषको आज बिहान मृत्यु भएको हो।

प्रदेश-५ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकर चौधरीले आज बिहान ७ बजेर १० मिनेटमा उनको मृत्यु भएको पुष्टि गरे।

“भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अवस्था निकै जटिल थियो,” उनले भने, “आज बिहान अस्पतालले मृत्यु भएको घोषित गरेको हो।”

अस्पतालका सञ्‍चालक सुरज भट्टराईले पनि उपचाररत बिरामीको मृत्यु भएको पुष्टि गरे। “मृतकका आफन्तलाई खबर गरिसकेका छौं। प्रदेश सरकारलाई पनि जानकारी गराएका छौं,” उनले भने, “अस्पतालले पनि केहीबेरमा विज्ञप्ति जारी गरेर जानकारी गराउने छ।”

शिक्षण पेसामा रहेका मृतक १ जेठमा क्रिमसन अस्पतालमा भर्ना भएका थिए। उच्च ज्वरो, रुघाखोकीलगायत समस्या बढेपछि उनी उपचारका लागि क्रिमसन आएका थिए।

त्यहाँ उनलाई आईसीयूमा राखेर उपचार शुरु गरिएको थियो। प्रदेश(५ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले पनि क्रिमसन अस्पतालमा उपचाररत बिरामीको आज बिहान मृत्यु भएको पुष्टि गरे।

हिजो मध्याह्न अस्पतालले अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचार भइरहेको बताएको थियो। २ जेठमा आईसीयूमा उपचार गराइरहेका ती बिरामीको स्वाबको नमूना संकलन गरिएको थियो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो। यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ।